प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा भएको बहसको समय अपर्याप्त भएको भन्दै असन्तुष्टि जनाएका छन्।
मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्त्वपूर्ण दस्तावेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले यसलाई छोटो समयमा सिमित गरेको आङदेम्बेको भनाइ छ। विगतमा कम्तीमा तीन दिनसम्म चल्ने यस्तो बहसलाई यसपटक ६ घण्टामा मात्र खुम्च्याइनु दुःखद भएको उनले बताए।
नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय नभई मुलुकको भविष्यसँग जोडिएको विषय भएकोले यसमा सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने उनले बताए।
‘नीति तथा कार्यक्रम भनेको ठट्टाको विषय होइन, जसले मुलुकलाई वर्षदिनको एउटा खाका दिन्छ। त्यसको सम्बन्धमा बहस गर्ने समय चाहिन्छ माननीय सांसदहरूलाई,’ उनले भने, ‘इतिहास दुई दिनको थियो, दुई दिनको थियो, त्यो पनि भएन। एक दिन थियो, त्यो पनि भएन। एक दिनभित्रको पनि ६ घण्टामा सिमित नीति तथा कार्यक्रमको बहस।’
सरकारले नीति तथा कार्यक्रममा ‘डिजिटलाइजेसन’ र प्रविधिको कुरा जोडतोडका साथ उठाए पनि गाउँका गरिब किसान र मजदुरको पहुँचमा प्रविधि पुर्याउने विषयमा भने ध्यान नदिएको आङदेम्बेले आरोप लगाए।
‘हामीले तय गरेका हाम्रा कार्यक्रमहरू मध्यम वर्ग र अलिक एलिट वर्ग, अलिक उच्च वर्गको लागि मात्रै हो? होइन। हाम्रा योजनाहरू, हाम्रा सोचहरू, हाम्रा वर्षदिनका कार्यक्रमहरू गरिब, किसान र मजदूरतर्फ लक्षित हुनुपर्दथ्यो। तर त्यस्तो नदेखिएको अहिलेको अवस्था छ।’
उनले सरकारले ल्याएको ‘नागरिक एप’ को प्रभावकारिताका लागि पनि सर्वसाधारणसँग गुणस्तरीय मोबाइल र प्रविधिको उपलब्धता अनिवार्य रहेको औँल्याए। नीति तथा कार्यक्रममा ‘मोबाइल’ जस्ता आधारभूत प्रविधिको पहुँचबारे स्पष्ट खाका नहुनुले सरकारको सोच अझै पनि भुइँतहका नागरिकसम्म पुग्न नसकेको देखिने उनको भनाइ थियो।
दुई तिहाइ बहुमतको सरकारले नीति तथा कार्यक्रमलाई व्यवस्थित बनाउन र गरिब जनताको पहुँचसम्म पुर्याउन नसक्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै उनले आगामी बजेटमार्फत यस्ता त्रुटिहरू सच्याउन सरकारलाई आग्रह गरे।
प्रतिपक्षको भुमिकाबारे स्पष्ट पार्दै नेता आङदेम्बेले कांग्रेस केवल विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले राज्यको नियतमाथि शंका नगरे पनि कार्यशैली र प्राथमिकतामा परिवर्तनको आवश्यकता रहेकोमा जोड दिए।
Shares

प्रतिक्रिया