राजनीति


यो सरकारको नियत ठिक छैन: प्रचण्ड

यो सरकारको नियत ठिक छैन: प्रचण्ड

नेपालखबर
जेठ ३, २०८३ आइतबार १२:१५, सुर्खेत

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नियत ठीक नभएको टिप्पणी गरेका छन्। 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा प्रेस सेन्टरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।

अध्यादेश ल्याउनेदेखि हाल गरिरहेका कामकाजहरू हेर्दा बालेन शाह नेतृत्त्वको वर्तमान सरकारको नियत राम्रो नदेखिएको प्रचण्डको भनाइ छ।

‘नेपालको सन्दर्भमा भन्ने हो भने, अहिलेसम्म कहिल्यै नभएको काम भएको छ’, उनले भने, ‘सदन सरकार आफैँले बोलाउने, बोलाएको भोलिपल्ट त्यसलाई रोकेर अत्यादेश ल्याउने भनेको लोकतन्त्रको योभन्दा ठूलो उपहास अरु केही हुनै सक्दैन्।’

उनले रास्वपाको झण्डै दुई–तिहाइको सरकार हुँदा पनि नियमित प्रक्रियाबाटै विधेयकहरू ल्याउने बाटो छोडेर सदनलाई छलेर अध्यादेशको बाटो जानु लाजमर्दो कुरा भएको टिप्पणी गरे। 

उनले सरकारले सुकुमबासीहरूमाथि गरेको डोजर आतंक, ट्रेड युनियन खारेजी, संविधान संशोधनको निम्ति भनेर सरकारले बनाएको समिति लगायतका कामको विरोध गरे।

‘सुकुमबासीका समस्या समाधान भएको छैन, त्यो अहिले पनि गम्भीर प्रकृतिकै समस्याको रूपमा छँदैछ,’ उनले भने, ‘ट्रेड युनियनसँग सम्बन्धित, विद्यार्थीसँग सम्बन्धित विषयहरू पनि गम्भीर छन्। संविधान संशोधनको निम्ति भनेर सरकारले तयार पारेको बहस पत्र पनि पारदर्शी तरिकाले अगाडि आएको छैन।’ 

प्रचण्डले सरकारले संविधान संशोधनका लागि बनाएको बहस पत्र समिति पनि पादर्शी रुपमा अगाडी नबढेको दाबी गरे। 

उनले जेनजी आन्दोलन र त्यसपछिको घटनाक्रमले देशको राजनीति असहज दिशातर्फ गएको र निर्वाचन सम्पन्न भई नयाँ सरकार बने पनि राजनीति अझै सही ट्र्याकमा अघि बढ्न नसकेको टिप्पणी गरे। 

उनले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनको निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा नेकपाले रचनात्मक ढङ्गले सहयोग गर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad