संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो मातहतका विभिन्न संस्थाहरूमा पदपूर्तिका लागि बनाएको रोस्टर (सूचीकरण) का विषयमा आलोचना सुरु भएपछि स्पष्टीकरण दिएको छ।
आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् स्पष्टीकरण दिँदै मन्त्रालयले यो नियुक्तिका लागि आवेदन माग नगरिएको नभई सूचीकरण मात्रै भएको जनाएको हो।
‘यो केवल रोस्टर वा सम्भावित व्यक्तिहरूको सूची निर्माण गर्ने संस्थागत अभ्यास हो,’ मन्त्रालयले भनेको छ, ‘नेपालको आफ्नै इतिहासमा पनि यस्तो अभ्यास नयाँ होइन। नेपाल प्रज्ञा प्रतिष्ठान स्थापना भएपछि प्रारम्भिक चरणमा धेरै प्राज्ञहरू सरकारी विज्ञापनबाट होइन, सिर्जनात्मक योगदानको पहिचानका आधारमा आमन्त्रण गरिएको इतिहास छ। राष्ट्रले प्रतिभालाई खोज्ने परम्परा हामीसँग पहिले पनि थियो। अझै पनि छ।’
मन्त्रालयले रोस्टर अनिवार्य मापदण्ड नभएको र अन्तिम सिफारिस अलग्गै प्रक्रियाबाट हुने पनि स्पष्ट गरेको छ। ‘प्राज्ञिक योगदान नभएका, सिर्जनात्मक वजन नबनाएका तर दलको झण्डा बोकेकै कारणले मात्रै प्राज्ञ भएकाहरूको बारेमा हामी सबैले पढेकै हो। त्यसैले यसपटक विज्ञहरू सम्मिलित, अति गोप्य तर स्वतन्त्र मूल्यांकन समितिले सुझाएको सूचीबाट योगदान, योग्यता, इमान्दारी र कार्यक्षमताको आधारमा नियुक्तिको आमन्त्रण गरिनेछ,’ मन्त्रालयले भनेको छ। साथै मन्त्रालयले यसलाई राजनीतिक भागबण्डाबाट टाढा रहने प्रयासका रूपमा पनि अर्थ्याएको छ।

प्रतिक्रिया