राजनीति


सर्वसम्मत नेतृत्व चयन गर्ने रास्वपाको तयारी : रवि, बालेन र भूपदेव दोहोरिने

सर्वसम्मत नेतृत्व चयन गर्ने रास्वपाको तयारी : रवि, बालेन र भूपदेव दोहोरिने

सागर न्यौपाने
जेठ ५, २०८३ मंगलबार २०:३१, काठमाडौँ

आगामी असारमा चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनबाट सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ।

विभिन्न राजनीतिक दल र समूहहरूसँगको एकता तथा समायोजनपछिको पहिलो महाधिवेशन भएकाले निर्वाचन नगरी एकताको सन्देश दिन उपयुक्त हुने समझदारी पार्टीभित्र बनेको महामन्त्री भूपदेव शाहले बताए। 

रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन तोकेको छ। २०७९ असार ७ गते स्थापना भएको रास्वपाले त्यसलगत्तै भएको प्रतिनिधिसभा निर्वाचनमा २१ सिट जितेको थियो।

जेनजी आन्दोलनपछि फागुन २१ गते भएको चुनावताका विवेकशील साझा पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह नेतृत्वको समूहसँग सो पार्टीले एकता गरेको थियो। यो चुनावमा रास्वपाले १८२ सिट जितेको छ। जुन प्रतिनिधि सभाको झण्डै दुई तिहाइ हो। 

महामन्त्री शाहका अनुसार पहिलो महाधिवेशन भएकाले सकभर निर्वाचन नगरी सहमतिमै नेतृत्व चयन गर्न गृहकार्य भइरहेको छ।

‘नेतृत्व चयन सहमतिमा गर्ने सबैजनाको इच्छा हो,’ उनले नेपालखबरसँग भने, पार्टीभित्र त्यही हिसाबले छलफल भएको छ। सबैजनाको सहमतिमा नयाँ नेतृत्व पाउँछ भन्नेमा हामी आशावादी छौँ।’

यद्यपि, लोकतान्त्रिक अभ्यास स्थापित गर्न वडा तहको तदर्थ समिति गठन गर्दा निर्वाचन गराएको भए पनि केन्द्रीय महाधिवेशनमा भने सन्देशमूलक एकताका लागि सहमतिमै जोड दिएको नेताहरू बताउँछन्।

केन्द्रीय कमिटीमा आम जनमानसको चाहना अनुसार जेनजी अनुहारलाई पनि समेटिने उनीहरूको भनाइ छ। 

‘एकताको पहिलो महाधिवेशन भएकोले चुनाव हुँदैन, सहमतिबाट नै नेतृत्व चयन गरिन्छ,’ सभापति रवि लामिछाने निकट एक पदाधिकारीले भने।

पदाधिकारी संख्या थपघट हुनसक्ने
रास्वपाको मौजुदा विधानमा एक सभापतिसहित ११ पदाधिकारी रहने व्यवस्था छ। जसका लागि महाधिवेशन प्रतिनिधिहरूबाट पहिलो चरणमा १ सभापति र ९९ जना केन्द्रीय सदस्य निर्वाचित वा सर्वसम्मत हुने व्यवस्था छ। 

तिनै निर्वाचित ९९ केन्द्रीय सदस्यहरू मध्येबाट ३ उपसभापति, २ महामन्त्री र ४ सहमहामन्त्री चयन हुने प्रावधान छ।

महाधिवेशनको मिति तय भएपछि भंग भएको केन्द्रीय समितिमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह तथा सहमहामन्त्री विपिन आचार्य पदाधिकारी छन्। अधिकांश पदमा शीर्ष नेताहरू दोहोरिने पक्का रहेको नेताहरूको भनाइ छ। सभापतिमा रवि, वरिष्ठ नेतामा बालेन, उपसभापतिमा स्वर्णिम र महामन्त्रीमा भूपदेव दोहोरिने उनीहरूले बताए।

महामन्त्री नियुक्त भएका भूपदेवले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीच समन्वय गरिरहेका छन्। उनी बालेन्द्र निकट हुन्। सरकार र पार्टीबीच समस्या आउन नदिन उनले भूमिका खेलिरहेका छन्।

पदाधिकारीमध्ये केहीको बढुवा हुनसक्छ। सचिवालयमा रहेका कतिपयलाई पदाधिकारी बनाउने तयारी छ। 

तर, महाधिवेशनअगावै विधान परिमार्जन गरी पदाधिकारी संख्या र कार्यसमितिको आकार थपघट हुन सक्ने संकेत नेताहरूले गरेका छन्। यसका लागि सहमहामन्त्री विपिन आचार्य लगायत रहेको विधान मस्यौदा कार्यदलले काम गरिरहेको छ। आचार्यले विधानको विषयमा देशैभरबाट सुझाव लिइरहेको बताए।

कार्यदलले सुझावसहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेस गरेपछि पदाधिकारी र केन्द्रीय समितिको आकारबारे निर्णय हुनेछ।

‘अहिले रहेको पदलाई कायम राख्ने, केही पद थपघट गर्नुपर्ने सुझाव आएको छ,’ विधान मस्यौदा कार्यदलका एक सदस्यले भने, ‘एकताको सन्देश दिनुपर्ने भएकाले मिलाएर जान्छ। पदाधिकारी संख्या थपघट हुन सक्छ, कुनै–कुनै पद थपिन पनि सक्ला।’

पदाधिकारी मात्र नभई केन्द्रीय सदस्यसमेत सर्वसम्मत चयन गर्ने महामन्त्री शाह बताउँछन्। 

‘यसपालि सभापतिदेखि पदाधिकारी र केन्द्रीय समिति पनि सर्वसम्मत चयन गरौँ भनेर सबैजना त्यसैमा लागिरहनुभएको छ,’ उनले थपे, ‘उहाँहरूको चाहनाअनुसारको नेतृत्वलाई मूर्त रूप दिनुपर्छ।’

महाधिवेशन नजिकिँदै गर्दा रास्वपाले राजनीतिक प्रतिवेदन लेखन र व्यवस्थापकीय कामलाई तीव्रता दिएको छ।

‘प्रतिवेदन लेखन लगायत महाधिवेशनका लागि कार्यविभाजन हुँदै छ। सफलताका साथ महाधिवेशन सम्पन्न गरेपछि पार्टी पनि ताजगी हुन्छ र यसले एउटा दिशा पाउँछ,’ महामन्त्री शाह भन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad