राजनीति


रास्वपामा रवि लामिछानेको विकल्प सोच्न सकिँदैन: गणेश पराजुली

रास्वपामा रवि लामिछानेको विकल्प सोच्न सकिँदैन: गणेश पराजुली

नेपालखबर
जेठ ६, २०८३ बुधबार १५:३०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीभित्र कुनै पनि किसिमको गुटबन्दी नभएको दाबी गरेका छन्। 

बुधबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले रास्वपाभित्र विभिन्न राजनीतिक शक्तिहरू समाहित भए पनि सबैको लक्ष्य राष्ट्र निर्माण नै रहेकाले गुट र उपगुटको कुनै सम्भावना नरहेको जिकिर गरे। पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै उनले सभापति रवि लामिछानेको विकल्प पार्टी र जनता कसैले पनि नखोजेको बताए। 

‘राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नेतृत्व खोजिरहेको छैन र नेपाली जनताले पनि सभापतिको विकल्प खोजेका छैनन्,’ उनले भने, ‘असार ७, ८ र ९ गते हुने ऐतिहासिक राष्ट्रिय महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत सबै वैधानिक जिम्मेवारीहरू टुङ्ग्याउनेछ।’

संसदको कामकारबाही र बजेट छलफलका सम्बन्धमा बोल्दै पराजुलीले यसपटक विनियोजन विधेयक र नीति तथा कार्यक्रममाथिको छलफल विगतको तुलनामा द्रुत गतिमा भको बताउँदै यसलाई अर्थपूर्ण रहेको बताए। प्रतिपक्षले उठाएका महत्त्वपूर्ण सुझावलाई बजेटमा समेट्न प्रधानमन्त्री र अर्थमन्त्रीले प्रतिवद्धता जनाएको उनको भनाइ थियो। 

‘विगतमा हप्तादिन चल्ने छलफल यस पटक दुई दिनमै टुङ्ग्याइएको सत्य हो, तर यसलाई सरकारले पेल्न खोजेको रूपमा बुझ्नु हुँदैन,’ उनले भने, ‘बरु कार्यपालिका र व्यवस्थापिका दुवैले फास्ट ट्रयाकमा काम गर्न खोजेको रूपमा बुझ्नुपर्छ।’

प्रधानमन्त्री संसदमा अनुपस्थित भएको भन्ने प्रश्नमा प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी र टेबल गर्नुपर्ने विषयहरूमा सक्रियता देखाइरहेको उनको भनाइ थियो। सरकारको १०० दिने कार्ययोजनाबारे जानकारी दिँदै उनले मन्त्रीहरू सार्वजनिक कार्यक्रम र रिबन काट्ने काममा भन्दा नतिजामुखी काममा केन्द्रित भएको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad