राजनीति


मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १७:५७, जनकपुरधाम

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन्। शुक्रबारको मधेस प्रदेशसभाको बैठकमा उपस्थित कुल ९८ जना सांसदमध्ये ६२ सांसदले पक्षमा मतदान गरेका हुन्। ३६ जनाले भने विपक्षमा मतदान गरे। 

यादवलाई नेपाली कांग्रेसका २२, नेकपा एमालेका २४, नेकपाका १४, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/१ जनाले विश्वासको मत दिएका हुन्। 

जसपा नेपाल, जनमत पार्टी र राप्रपाले उनको विपक्षमा मत हाल्यो। जसपा नेपालका २६, जनमत पार्टीका १२ र राप्रपा नेपालका एक जना गरी ३९ जना रहेको भए पनि तीन जना अनुपस्थित थिए। 

मधेस प्रदेशको छैटौँ मुख्यमन्त्रीको रूपमा रहेका कृष्णप्रसाद यादवले दोस्रो पटक विश्वासको मत लिएका हुन्। जनमत पार्टीले गत वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शुक्रबार मधेस प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन्।

संविधानको धारा १८८ को उपधारा २ मा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ भन्ने उल्लेख छ। 

नेपाली कांग्रेस, मधेस प्रदेशको संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपूर्व बिहीबार राति मन्त्रिपरिष्द पुनर्गठन गरेका थिए। उनले एमालेका मोहम्मद समिरलाई बिना विभागीय मन्त्रीको रूपमा नियुक्त गरिसकेका छन्।

यसअघि सरकारमा रहेको जसपा नेपालका मन्त्रीहरूलाई मुख्यमन्त्री यादवले बिहीबारनै बर्खास्त गरेका थिए। जनमत पार्टीका मन्त्रीहरूले बिहीबार राति राजीनामा बुझाइसकेका छन्।

विश्वासको मतपछि सहमतिअनुसार खाली रहेका पाँचवटा मन्त्रालयमध्ये एमालेले पाएको चारवटा मन्त्रालय र कांग्रेसले लिने एउटा मन्त्रालयबाट बाँडफाँट गरिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad