नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारको बिजुलीमा कर लगाउने कार्यलाई उल्टो बाटो भनेका छन्।
महासचिव पोखरेले सामाजिक सञ्जालमार्फत बजेटबारे आफ्नो धारणा राख्दै यसमा प्रश्न गरेका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ,’ पोखरेलको प्रश्न छ, ‘आखिर यस्तो अविवेकी निर्णय कसको हितमा?’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार संसद्मा बजेट प्रस्तुत गर्दै ५० युनिटमाथिको विद्युत् प्रयोगमा भ्याट लगाउने बनाएका थिए। यसलाई पोखरेलले नागरिकलाई प्राकृतिक स्रोतको उपयोगमा निरुत्साहित गर्न खोजेको भनेर टिप्पणी गरेका छन्।
‘नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रमध्ये एक हो। स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम हो,’ उनले भनेका छन्।
सरकारको यस कमदले पेट्रोलियम पदार्थको प्रयोग बढ्ने उनको आकलन छ। उनले भनेका छन्, ‘पेट्रोलियम प्रोडक्टको अभाव र मूल्यवृद्धि भएको समयमा ग्रिन इनर्जीलाई प्रवर्द्धन गर्नुपर्नेमा विद्युतीय गाडीको प्रयोगलाई समेत दुरुत्साहन गर्नेगरी करको भार थोपर्ने काम समेत बजेट मार्फत गरिएको छ।’
बिजुलीमा कर लगाउनुलाई गलत कदम भनेका छन्। यसलाई तत्काल सच्याउन सरकारसँग माग गरेका छन्।
‘यदि बजेटको आकार बढाउने नाममा आय श्रोत देखाउन यस्तो निर्णय हुनपुगेको हो भने सरकारले तत्काल आफ्नो गल्ती सच्याउनु पर्दछ,’ पोखरेलले भनेका छन्, ‘सरकार आफैले नाफा लिएर बिक्री गरेको विद्युत खपत वृद्धिहुदा भ्याट लगाएर जनताको ढाड सेक्ने होइन, आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा त्यसको अधिकतम् उपयोग गर्न प्रेरित गर्नु पर्दछ।’
Shares

प्रतिक्रिया