राजनीति


रवि लामिछानेको भारत भ्रमणबारे भाजपाले के भन्यो?

रवि लामिछानेको भारत भ्रमणबारे भाजपाले के भन्यो?

नेपालखबर
जेठ १७, २०८३ आइतबार २२:१३, काठमाडौँ

भारतीय जनता पार्टी (भाजपा) ले एक वक्तव्य जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणबारे जानकारी दिएको छ। भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले आज (आइतबार) लामिछानेको भारत भ्रमणबारे वक्तव्य जारी गरेका हुन्। 

उनले यस भ्रमणको मुख्य उद्देश्य भाजपा र रास्वपाबीच ‘पार्टी-टू-पार्टी’ सम्बन्धको सुरुवात गर्नु भएको बताएका छन्। भ्रमणका क्रममा दुवै पार्टीका नेताहरूबीच दलीय संगठन सञ्चालनका अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक अभियानका विषयमा विचार आदानप्रदान हुने वक्तव्यमा जनाइएको छ।

लामिछाने नेतृत्वको टोली सोमबार भारत भ्रमणमा जाने भएको छ। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा रास्वपा टोली भारत जान लागेको हो। 

भ्रमणका क्रममा रास्वपा टोलीले नयाँ दिल्लीमा अध्यक्ष नवीनलगायत अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

रास्वपा र भारतको सत्ताधारी दल भाजपाबीच हुन लागेको यो पहिलो औपचारिक संवाद हो।

यता रास्वपाले पनि सभापति रवि लामिछानेको भारत भ्रमणबारे जानकारी दिएको छ। प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै पाँच दिने भारत भ्रमणबारे जानकारी गराएका हुन्।

भ्रमणका क्रममा नयाँ दिल्लीमा लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीति भेटघाट गर्नेछन्। साथै भारतमा बस्ने नेपाली समुदाय तथा पार्टी शुभेच्छुकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको झाले जानकारी दिए।

टोलीमा सभापति लामिछानेसँगै रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, लामिछानेकी पत्नी निकिता पौडेल र सहायक प्रदिप आचार्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad