राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गर्दै नाराबाजी गरेका छन्।
सोमबार दोस्रो पटक सुरु भएको राष्ट्रिय सभाको बैठकमा सबै सांसदले उठेर प्रधानन्त्री शाहको अभिव्यक्तिप्रति विरोध जनाए। आइतबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए।
त्यसलाई लिएर राष्ट्रिय सभाको बैठक सुरु हुने वितिक्कै सांसदले विरोध जनाएका हुन्। उनीहरूले प्रधानमन्त्री शाहले आफ्नो भनाइ फिर्ता लिएर माफी माग्नुपर्ने बताए।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालका लागि सहयोग गर्न सांसदसँग आग्रह गरेका थिए। सांसदले भने विरोध जारी राखेका हुन्।
उनीहरू प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै नाराबाजी गरे। सबै सांसद नाराबाजीमा उत्रिएपछि अध्यक्ष दाहालले राष्ट्रिय सभाको बैठक स्थगित गरेका छन्।
राष्ट्रिय सभाको अर्को बैठक जेठ १९ गते मंगलबार दिउँसो १ः१५ बजे बस्ने भएको छ।
Shares

प्रतिक्रिया