उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई देशको सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने बताएका छन्।
सरकारका काम–कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै घिसिङले जनअपेक्षाअनुसार काम हुन नसके सशक्त प्रतिवाद गर्ने चेतावनी दिए। उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर उनीहरूका समस्या र मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने उनको भनाइ थियो।
‘सरकारले राम्रोसँग काम गर्न सकेन भने नेपाली जनतालाई निराश हुन हामी दिँदैनौँ। त्यसको प्रतिवाद गर्छौँ,’ घिसिङले भने, ‘उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर जनताका मुद्दा र समस्याहरू बोकेर अगाडि बढ्छ। नेपालको एक सशक्त राजनीतिक शक्तिका रूपमा हामी आफूलाई स्थापित गर्दै छौँ।’
आगामी स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तारको विशेष योजना अघि बढाउने उनले बताए। प्रत्येक वडा र गाउँपालिका तहसम्म आफ्नो उपस्थिति मजबुत बनाउन ‘उज्यालो अभियान’ सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।
‘आगामी स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनहरूमा हामी जरा गाड्दै छौँ। हरेक गाउँपालिका, वडा र प्रदेशसम्म उज्यालो नेपाल पार्टीलाई विस्तार गर्दै आफ्नो सरकार स्थापना गर्ने लक्ष्यका साथ स्पष्ट कार्ययोजना र कार्यक्रम लिएर अगाडि बढिरहेका छौँ,’ उनले भने, ‘हरेक गाउँपालिकामा हामी संगठन विस्तार गर्दै छौँ।’
संगठनलाई जरादेखि नै बलियो बनाउँदै आगामी निर्वाचनमार्फत आफ्नो सरकार स्थापित गर्ने लक्ष्य लिएको उनको भनाइ थियो। ‘अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन। नयाँको विकल्प नयाँ नै हुन्छ र त्यो भनेको उज्यालो नेपाल पार्टी हो,’ घिसिङले भने।
युवा वर्गलाई लक्षित गर्दै रोजगारी सिर्जना र लगानीका क्षेत्रमा नयाँ योजनाहरू ल्याउने प्रतिबद्धता जनाएका छन्। युवालाई देशको अर्थतन्त्र र लगानी प्रवर्द्धनमा कसरी आवद्ध गराउन सकिन्छ भन्ने विषयमा ठोस कार्ययोजना निर्माण भइरहेको उनले बताए।
Shares

प्रतिक्रिया