राजनीति


‘नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छ’

‘नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छ’

नेपालखबर
जेठ २७, २०८३ बुधबार १३:५, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढिरहेको बताएका छन्। यस्तो बेलामा सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भएको आरोप लगाए। 

बुधबार अर्थ समितिको बैठकमा बोल्दै डा. वाग्लेले उक्त प्रकरणमा संलग्न व्यक्तिहरू चाँडै नै न्यायको कठघरामा पुग्ने बताए। तर, कुन वित्तीय अपराध हो भनेर खुलाएनन्। ‘नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको अहिले छानबिन चलिरहेको छ। त्यसमा संलग्न, देशलाई मुठ्ठीमा लिएर सिंगो राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने पात्रहरू चाँडै नै न्यायको कठघरामा पुग्नेछन्,’ उनले भने। 

देशको राजनीति र राजनीतिक दललाई विकृत बनाउने गतिविधिमा संलग्न समूहहरू अझै सक्रिय हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरे। ‘उनीहरूले संरक्षण दिएका र उनीहरूको आश्रयमा रहेका समूहहरू कतै यसमा सलबलाइरहेका त छैनन् भन्ने विषयमा ध्यान दिनु आवश्यक छ। किन एउटा मात्रै विषयलाई बारम्बार उचालिँदै छ?,’ वाग्लेले थपे, ‘धेरैले राम्रो भनेको बजेट ल्याएको सरकार र अर्थमन्त्रीमाथि कुनै आधारविना, कुनै प्रमाणविना आरोप लगाइएको छ।’

हाल केही विषयलाई मात्र उचालेर सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको उनको आरोप थियो। सुशासनको नारा लिएर आएको सरकारमाथि आधारहीन आरोप लगाएर हिलो छ्याप्ने प्रयास भइरहेको उनले दोहोर्‍याए। 

‘जुन सरकार सुशासनको नारा लिएर आएको छ र सुशासनका लागि कडाइका साथ अघि बढिरहेको छ, त्यसैलाई लक्षित गरेर हिलो छ्याप्ने प्रयास गरिएको छ,’ उनले भने, ‘हिलो छ्यापिएपछि जति धोए पनि केही दाग बाँकी रहन सक्छ।’

अर्थमन्त्री वाग्लेले करका दरबारे लगाइएका आरोपहरू कुनै ठोस आधारविना आएको दाबी गर्दै ती प्रारम्भिक अवस्थामै खण्डित हुने प्रकृतिका रहेको बताए। सरकार सुशासन कायम गर्न दृढतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै नियतमा कुनै कमजोरी नरहेको जिकिर गरे। 

‘म ढुक्क छु, गल्ती गरिएको छैन, नियत पूर्ण रूपमा ठीक छ। लगाइएका आरोपहरू प्रथम दृष्टिमै खण्डित हुने खालका छन्,’ उनले भने, ‘तर सेतो कपडामा हिलो छ्यापेपछि केही न केही दाग बाँकी रहन सक्छ। त्यो दाग बाँकी रहोस्, छवि केही हदसम्म भए पनि धुमिल बनोस्, र सरकारलाई कमजोर बनाउने प्रयास सफल होस् भन्ने उद्देश्यले नै यस्तो प्रहार गरिएको हो कि भन्ने आशंका गर्न सकिन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad