राजनीति


रास्वपाले भन्यो- १८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाएको छैन

रास्वपाले भन्यो- १८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाएको छैन

नेपालखबर
असार १७, २०८३ बुधबार १८:४६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका बालबालिकालाई सदस्य नबनाएको जनाएको छ। 

बुधबार रास्वपा महामन्त्री विपिनकुमार आचार्यले प्रेस विज्ञप्ति जारी गरी १८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउने नीति नरहेको जनाएका छन्। प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांकमा सदस्यताका लागि निवेदन दिनेको संख्या उल्लेख गरिएको प्रस्ट्याएका छन्। 

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (क) मा १८ वर्ष पूरा भएको भन्ने व्यवस्था साथै रष्ट्रिय स्वतन्त्र पार्टीको विधानको दफा १३ (क) बमोजिम १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मात्र पार्टी सदस्य हुने व्यवस्था रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा पार्टी सदस्यका रूपमा संलग्न गराउने कार्य न राष्ट्रिय स्वतन्त्र पार्टीको नीति हो, न अभ्यास हो, न त कुनै संस्थागत उद्देश्य नै हो।’

सदस्यताका लागि आवेदन दिन जो कोहीले सक्ने भएकाले १८ वर्षमुनिका बालबालिकाले पनि निवेदन दिएको पाइएको जनाएको छ। त्यो प्रारम्भिक आवेदन मात्रै भएकाले सदस्यता स्वीकृति भएको नमानिने रास्वपाले जनाएको छ। 

‘हाम्रो डिजिटल सदस्यता प्रणालीमा ‘सदस्यता आवेदन, प्रमाणीकरण र अन्तिम स्वीकृति फरक–फरक प्रशासनिक तथा प्राविधिक चरणहरू हुन्। एप वा वेबसाइटमार्फत् सदस्यताका लागि जो कोहीले आवेदन दिन सक्ने खुला व्यवस्था भए तापनि, त्यस्तो प्रारम्भिक आवेदन स्वतः सदस्यता स्वीकृत भएको मानिँदैन,’ विज्ञप्तिमा भनिएको छ। 

आवेदन दिएकामध्ये सम्बन्धित तहबाट प्रमाणीकरण भएकालाई मात्रै सदस्यता दिइने रास्वपाको भनाइ छ। ‘सदस्यता अन्तिम रूपमा स्वीकृत हुनका लागि उमेर तथा राष्ट्रियता पुष्टि हुने नागरिकता वा अन्य आधिकारिक प्रमाण संलग्न गरी सम्बन्धित तहबाट प्रमाणीकरण सम्पन्न हुनुका साथै विधान तथा कार्यविधि बमोजिम तोकिएका सम्पूर्ण प्रक्रिया पूरा भएको हुनुपर्छ,’ रास्वपाले भनेको छ। 

प्रारम्भीक चरणमा केही आवेदकको उमेर नपुगेको देखिएको जनाएको छ। उमेर नपुगेका आवेदकलाई सदस्यता नदिइने विज्ञप्तिमा उल्लेख छ। 

‘राष्ट्रिय स्वतन्त्र पार्टी विधिको शासन, संविधानको सर्वोच्चता, सुशासन, पारदर्शिता तथा प्रचलित कानुनको पूर्ण पालना गर्न सदैव प्रतिबद्ध रहेको पुनः स्पष्ट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad