राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो सुरुवात गरिरहेको टिप्पणी गरेका छन्।
सरकारको सय दिने कामबारे सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तरमा सभापति लामिछानेले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकतामा राखेर अघि बढेको जिकिर गरेका हुन्। ‘सरकारले यो सय दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो।
सरकारले यो सय दिनमा विशेष गरी सुशासनमा अझ बढी समय लगाएको छ, लगाउनुपर्ने पनि छ,’ उनले भने, ‘सुशासनका मुद्दामा अझ बढी ध्यान गयो।’
उनले विकास निर्माण तथा दीर्घकालीन पूर्वाधार आयोजनाको विषयमा सरकारले दुई–तीन वर्षको योजना बनाएर काम गरिरहेको बताए। त्यसको नतिजा दुई–तीन वर्षभन्दा पहिले अपेक्षा गर्न नहुने उनको तर्क थियो।
‘विकास निर्माण र दुरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अझ पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारको क्षेत्रमा भन्नुहुन्छ भने हामीले दुई–तीन वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ। त्यसको नतिजा दुई–तीन वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुनसक्ला,’ उनले भने।
तथापि, विकास निर्माणको विषयमा तत्काल देखिने केही क्षेत्रमा उपलब्धिमूलक काम भएको लामिछानेको दाबी छ। ‘यद्यपि तत्काल देखिने नतिजाहरूमा समेत काम भएकै छ,’ उनले भने, ‘सुशासन अहिले सरकारको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा सेवालाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ।’
उनले नागरिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनुका साथै कम झन्झटिलो बनाउने प्रक्रियाको सुरुवात भइसकेको भन्दै त्यसको सकारात्मक प्रभाव विस्तारै देखिँदै जाने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया