राजनीति


अझै पनि कांग्रेस मिलाउन सकिन्छ: प्रकाशशरण महत

अझै पनि कांग्रेस मिलाउन सकिन्छ: प्रकाशशरण महत

नेपालखबर
असार २२, २०८३ सोमबार १७:४४, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले अझै पनि पार्टीको आन्तरिक विवाद मिलाउने सकिने अवस्थामा रहेको बताएका छन्। 

सोमबार संस्थापन इतर पक्षको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता महतले बाहिर चर्चाका लागि मात्र नभई वास्तविक निष्कर्ष निकाल्ने उद्देश्यले वार्तामा बस्नुपर्ने बताए। अहिलेसम्मका वार्ता र छलफलहरू ठोस निष्कर्षमा पुग्न नसकेकोमा असन्तुष्टि व्यक्त गरे। 

बैठकमा सहमति खोज्ने तर बाहिर निस्किएपछि फरक ढङ्गले प्रस्तुत हुने प्रवृत्तिले एकता प्रक्रियामा अवरोध सिर्जना गरेको उनको भनाइ छ। 

‘कुन विषयमा सहमति जुट्न सक्छ र कुनमा सक्दैन भन्ने स्पष्ट हुन एकै ठाउँ बसेर छलफल गर्नुपर्छ,’ महतले भने, ‘मिडिया वा सार्वजनिक खपतका लागि मात्र नभई साँचो मनले सम्मानजनक एकताका लागि वार्ता आवश्यक छ।’

पार्टी समायोजन र क्रियाशील सदस्यता अद्यावधिकका विषयमा देखिएका मतभेदबारे चर्चा गर्दै महतले ती मुद्दाहरू संवादको माध्यमबाट हल गर्न सकिने दाबी गरे। उनले केवल प्रचारका लागि मात्र एकताको कुरा गरेर कुनै अर्थ नहुने भन्दै गम्भीर भएर वार्ताको टेबुलमा आउन र पार्टीलाई एकढिक्का बनाउन आग्रह गरे। 

‘कुरा गर्दा सबै हुन्छ भन्ने बाहिर निस्किएपछि निष्कर्षमा नपुर्‍याउने भएको छ। त्यो चाहि मिलाउनतिर उहाँहरू गम्भीर हुनुहुन्न भन्ने संकेत हो,’ महतले भने, ‘मिलाउने हो भने अझै पनि मिलाउन सकिन्छ। साचो मानेमा मिलाउने हो भने नमिल्ने कुरै छैन। मिलाउनै चाहने भने जे पनि हुनसक्छ।’

संस्थापन इतर पक्षले सोमबार सम्पर्क कार्यालयको सुरुवात गरेको छ। कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनदेवीमा सम्पर्क कार्यालयको उद्घाटन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad