राजनीति


भारतका निवर्तमान राजदूत मञ्जीव सिंह पुरी भन्छन्: नेपाल अब पहिलेजस्तो रहेन

भारतका निवर्तमान राजदूत मञ्जीव सिंह पुरी भन्छन्: नेपाल अब पहिलेजस्तो रहेन

नेपालखबर
असार ३, २०७७ बुधबार ८:११,

नेपालका लागि भारतका निवर्तमान राजदूत मञ्जीव सिंह पुरीले नेपालले लिम्पियाधुरा सहितको नक्सा जारी गरेर भारतसँग आफ्नो ‘नाक ठोकाउन आइपुगेको’ टिप्पणी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राष्ट्रवादी विरासतलाई बलियो बनाउन नयाँ नक्सा जारी गरेको दाबी समेत गरेका छन्।

‘नेपालमा राष्ट्रवाद सँधै छ जुन वास्तवमा भारतविरोधी भावनाको मखुण्डो हो। नेताहरुले आफ्नो व्यक्तिगत लाभका लागी यसको प्रयोग गर्छन्, र यो प्रशासन, बौद्धिक र मिडियामा समेत गडेर बसेको छ,’ भारतीय पत्रिका द हिन्दूमा बुधबार प्रकाशित पुरीद्वारा लिखित लेखमा भनिएको छ।

उनले नेपालको नयाँ नक्सा भारतको भूमि मिचेर बनाइएको दाबी गरेका छन्।

सो नक्सा प्रकाशन र त्यसलाई संविधानमा रहेको निशान छापमा राख्ने काम कुनै पनि हालतमा रोक्नुपर्नेमा त्यसो गरिएको उनको दाबी छ।

‘त्यसो त, आफ्ना जनताको हितविपरित मूल्य चुकाएर पनि नेपालले भारतसँग आफ्नो नाक ठोक्काएको यो पहिलो पटक भने होइन,’ उनको दाबी छ, ‘सन् २०१५ मा पनि नेपाली कांग्रेसले भारतका चासोलाई वेवास्ता गर्दै नयाँ संविधान जारी गरेरै छाडेको थियो।’

उनले ५ हजार मेगावाटको गेम–चेन्जिङ जलविद्युत पञ्चेश्वर परियोजनामा प्रगति हुन नसकिरहेका बेला यो घट्नाक्रम भएको बताएका छन्।

सो लेखमा उनले नेपालमा तीब्ररुपमा परिवर्तन भइरहेको राजनीतिक, आर्थिक र सामाजिक परिदृष्यलाई भारतीय पक्षले बुझ्न र मनन गर्नुपर्ने धारणा राखेका छन्।

कुनैबेला नेपाली कांग्रेसका संस्थापक वीपी कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ दुवैजना बनारसमा बसेर राजनीति सुरु गरेकाे प्रसङ्ग उल्लेख गर्दै पुरीले अब भने नेपाली राजनीतिमा त्यसकाे प्रभाव घट्दै गएकाे बताएका छन्।

भारतले अब नेपाली समाज, राजनीति र व्यवसाय लगायतमा आएको यो विविधकरण बुझुनुपर्नेमा जोड दिएका छन्।

‘नेपालको राजनीति र प्रशासनमा भएका धेरैले बनारस हिन्दू विश्वविद्यालयमै पढेको हुँदा नेपालको ‘इन्टेलेक्चुयल सफ्टवेयर मुख्यतः त्यहिँ नै कोडिङ भएको’ उनले सो लेखमा उल्लेख गरेका छन्।

तर अहिले नेपालीहरु अध्ययनका लागि अरु बिभिन्न देशमा जाने, नेपालका महत्वपूर्ण ठाउँमा रहेका व्यक्तिहरु पहिले जस्तो भारतमै पढेका व्यक्ति नहुँदा परिस्थितिमा धेरै परिवर्तन भएको समेत उनले उल्लेख गरेका छन्।

‘विद्यार्थीहरुको बढ्दो बाह्य आवागमन, देशमै उच्चशिक्षाका संस्थाहरुको वृद्धि भएका कारण धेरै नेपाली युवा, समकालिन राजनीतिक नेताहरु, व्यवसाय, प्राज्ञिक क्षेत्रमा नेतृत्व तहमा रहेका व्यक्तिहरु अहिले भारतमा पढेका व्यक्ति छैनन्,’ उनले भनेका छन्, ‘यो सम्बन्धको अभावले पहिलेजस्तो आपसमा राम्रो समझदारी र समानुभूति हुने पहिलेको पुस्तासँग जस्तो स्वभाविक सम्बन्ध टुटेको छ।’

नेपालका श्रमजीवि युवाहरुको भारतमा मात्र नभई पश्चिम एसिया, मध्यपूर्व र पूर्वी एसियाली देश जाने प्रवृत्तिका कारण पनि नेपालमा सामाजिक रुपमा निकै परिवर्तन आएको उनले बताएका छन्।

त्यस्तै नेपालमा अन्तर्राष्ट्रिय संघ संस्थाहरु, क्रिश्चियन मिसनरी आदिको बढ्दो उपस्थितिले पनि नेपालको वस्तुस्थितिमा ठूलो परिवर्तन आएको उनको ठम्याई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad