राष्ट्रियसभाको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबारको बैठकमा बोल्ने सांसदहरुले क्वारेन्टिन व्यवस्थापनदेखि विदेशमा रहेका नेपालीहरुको उद्धार निःशूल्क गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महामारीका कारण घर फर्किन चाहे पनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराए।
सरकारले रोजगारी नदिएर धकेली धकेली युवाहरुलाई विदेश पठाए पनि रोग र भोकग्रस्त हुँदा पनि उद्धार गर्न नसकेको उनले बताए। ‘राम्रा र बलिया युवाहरु रोजगारीका लागि विदेशमा छन्। उनीहरु अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन्। स्वदेश आउन आतुर छन् तर रकम छैन्’, उनले भने, ‘भाडा तिर्ने पैसा छैन् शरीर पनि जीर्ण भएको छ। नेपालमा काम नदिएको कारणले धकेली धकेली यसपाली विदेश कति पठाउने भन्दै प्रतिस्पर्धा गर भन्दै पठाउँदै गरिएको भएर उहाँ अहिले अलपत्र परियो भन्छन्। तिनीहरुलाई कसरी ल्याउने? पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्यो नि।’
उनले दुव्र्यसन र लागु औषधले लिप्त भएर बसिरहेका युवाहरुलाई संरक्षण गरी कसरी रोकथाम गर्न सकिन्छ भन्ने तर्फ गृह मन्त्रालयको ध्यान जानुपर्ने बताए।
सांसद विमला घिमिरेले मकवानपुरको हेटौँडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गरिन्। ६ महिना अगाडि दुर्घटनामा श्रीमान् गमाएकी ती महिलालाई पहिलेदेखि नै घरका सदस्य मानसिक तनाव दिँदै आएको कुराहरु बाहिर आइरहेको उल्लेख गर्दै उनले दोषीलाई कडा कारबाही गर्न माग गरिन्।
सांसद शारदादेवी भट्टले कैलाली घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरिन्। महिलाहरु बाहिरको क्वारेन्टिनमा असुरक्षित रहेकाले आवश्यक सुरक्षा व्यवस्था मिलाएर होम क्वारेन्टिनमा राख्न उनले आग्रह गरिन्।
सांसद विमला राई पौडेलले घरघरमा जनतालाई सेवा दिने भनेर संघीयतामा देश भएको भए पनि स्थानीय तहमा निर्माण भएका क्वारेन्टिनहरुको अवस्था दुःख लाग्दो भएको बताइन्। उनले कोभिड—१९ संकट व्यवस्थापन केन्द्रमा महिला मन्त्रालयको सहभागिता हुनुपर्ने माग गरिन्।
सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार बढी नागरिकहरु आएको र अहिले प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्तिहरु क्वारेन्टिनमा रहेको बताए। हजारौँको संख्यामा क्वारेन्टिनमा रहेका व्यक्तिको परीक्षण हुन नसकेको आरडीटी पोजिटिभ देखिएका व्यक्तिहरुको पीसीआर परीक्षण ढिलाइ भएको उनले बताए।
सांसद रमेशजंग रायमाझीले मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले परिवर्तन गरी मदन भण्डारी राखेको प्रति आपत्ति जनाए। स्थानीयहरुको विरोधकाबीच प्रदेशको नाम परिवर्तन भएको उनले बताए। अस्पतालको नाम परिवर्तन नगर्न आग्रह गर्दै उनले मदन भण्डारीको नाममा अस्पताल चाहिने भए सुन्दर हरैचा नगरपालिकामा आफुले जग्गा उपलब्ध गराउने बताए।
सांसद सुमनराज प्याकुरेलले शम्भु सदाको थुनामा मृत्यु भएको घटनाको छानबिन अगाडी बढ्न नसकेको प्रति दुःख व्यक्त गए। प्रहरीको टर्चरका कारण मृत्यु भएको भनदै परिवारले अहिलेसम्म शव नउठाएको उल्लेख गर्दै उनले सरकारी वकिल कार्यालयबाट हिजो मुद्दा दर्ता भए पनि छानबिन सुरु नभएको बताए। उनले तत्काल छानबिन गर्न माग गरे।
Shares

प्रतिक्रिया