राजनीति


नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने नेकपा निर्णय

नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने नेकपा निर्णय

नेपालखबर
असार ६, २०७७ शनिबार ५:५८,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने  निर्णय गरेको छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नेपालीसँग बिहे गर्ने  विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको हाे।

नेपालीसँग विवाह गरेको ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेलासम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए।

‘नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि विदेशमा रहेको आफ्नो नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारवाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालेको छ,’ उनले बैठकपछि भने।

त्यस्ता विवाहित व्यक्तिले विहेपछि सात वर्षसम्म सामाजिक, आर्थिक, साँस्कृतिक सम्पूर्ण अधिकार हुनेगरी आवासीय परिचयपत्र प्रदान गर्ने प्रावधान कायमै रहेकोले सोहिअनुसार हुने उनले प्रष्ट्याए।

नागरिकता संशोधन विधेयकका लामो समयदेखि संसदमा विचाराधीन रहेको छ। पटक पटक यसका प्रावधानहरुमा छलफल भएपनि सहमति जुट्न सकेको छैन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसवादी दलहरुले अहिलेकै प्रावधान अनुसार विवाहलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने बताउँदै आएका छन्। अहिले पनि सोही प्रावधान छ।

विधेयक अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ। समितिमा अहिले अंगीकृत नागरिकताको विषयमा नै छलफल भइरहेको छ। समितिको छलफलमा सहमति जुट्न नसकेपछि गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमतिका लागि भन्दै एक हप्ताको समय मागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad