नागरिकता ऐन संशोधन विधेयकविरुद्ध प्रदेश २ को जनकपुरमा विभिन्न पार्टी तथा संघ/संगठनले प्रदर्शन गरेका छन्। नेपाल तरुण दल, जनता समाजावदी पार्टी र सीके राउत नेतृत्वको जनमता पार्टीका नेता÷कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्।
नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय नेकपाले गरेको छ। नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागिएको यो प्रस्ताव खारेज गरिनुपर्ने उनीहरूको माग छ।
पर्साको वीरगन्ज, सप्तरीको राजविराजलगायत प्रदेश २ का विभिन्न जिल्लामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले आइतबार विरोध प्रदर्शन गरेका हुन्।
तेस्रो मुलुकबाट विवाह गरी आउने बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्था संविधानको मर्म र भावनाविपरीत भएको दाबी कांग्रेस र जसपाको छ। यसले नेपाल-भारतबीच युगौंदेखि रहेको ‘बेटीरोटी’ र सांस्कृतिक सम्बन्धमा खलल पुग्ने ती दलको जिकिर छ।

प्रतिक्रिया