प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनसनरत युवाहरुले कोरोना नियन्त्रणका लागि तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्।
अनसनकारीहरुलाई बिहीबार साँझ अस्पताल पुगेर अनसन तोड्न आग्रह गरेका प्रधानमन्त्री ओलीसँग उनीहरुले कोरोना नियन्त्रणमा ठोस कदमा नचालेसम्म अनसन नतोड्ने जवाफ दिएका विवेकशील नेपाली दलका संयोजक मिलन पाण्डेले बताएका छन्।
प्रधानमन्त्री ओलीले बिहीबार साँझ ह्याम्स अस्पतालमा भेट गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। त्यस क्रममा ओलीले ती युवालाई अनसन ताेड्न आग्रह गरेपनि उनीहरुले अस्वीकार गरेका हुन्।
संयोजक पाण्डेले ट्विट गर्दै लेखेका छन्, ‘उहाँ (प्रधानमन्त्री)ले अनसन तोड्न अनुरोध गर्नुभएको थियो भने सत्याग्रहीहरुले कोरोना रोकथाम बारे सरकारको ठोस कदम नआउन्जेल अनसन जारी राख्ने दोहोराएका थिए।’
कोभिड–१९ संक्रमणको प्रभावकारी र पारदर्शीरुपमा नियन्त्रण गर्नुपर्ने माग राख्दै युवाहरुले प्रदर्शन गर्दै आएका छन्। तीमध्ये पुकार बम, इशान (ई), सुदन गुरुङ र सुबानी सिजापती शुक्रबारदेखि ललितपुरको पाटन कृष्णमन्दिर नजिकै अनसनमा बसेका हुन्।
अनसनकारीहरुको स्वास्थ्य अवस्था कमजोर भएपछि बिहीबार उनीहरुलाई अस्पताल लगिएको हो।

प्रतिक्रिया