दार्चुलास्थित भारतीय सीमाका तीन ठाउँमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ। बिहीबार एकसाथ तीनवटा बीओपी स्थापना गरिएको दार्चुला गुल्मका डीएसपी डम्बर बहादुर बिष्टले बताए।
भारतीय सीमानामा पर्ने लेकमको लाली, मालिकार्जुनको जोलजीवी र व्यासको दुम्लीङमा बोर्डर आउट पोष्ट स्थापना गरिएको छ। दुम्लीङमा सई लक्ष्मण कार्कीको कमाण्डमा, जोलजीवीमा सई मछुराम भट्टको कमाण्डमा र लालीमा सई मणिराम पार्कीको कमाण्डमा २०/२० जनाको टोली राखिएको हो।
७ नं बाहिनीका बाहिनीपति डीआईजी हरिशंकर बुढाथोकी र दार्चुला गुल्मका डीएसपी डम्बर बहादुर बिष्टले बीओपी उद्घाटन गरे।

दार्चुलाकै कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्रमा भारतले नेपाली भूमि मिचेकाे छ। हालै लिपुलेक क्षेत्रमा भारतले सडक बनाएपछि नेपाली सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।
यसअघि छाङरुमा बीओपी स्थापना भइसकेको छ। सशस्त्र प्रहरीले खलंगामा रहेको गुल्मलाई गण र व्यास गाउँपालिका १ को छांगरुमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) लाई गुल्म बनाइने बताएको छ।छाङरुमा गुल्मका लागि भवन निर्माण गर्न ११ करोड बजेट विनियोजन भएर भवन निर्माणका लागि प्रक्रियासमेत अगाडि बढेको छ।
दार्चुलामा भारतसँग सीमा जोडिएका १२५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र छ।

प्रतिक्रिया