राजनीति


११ नेताको प्रस्तावमा ओलीको शुभकामना, दाहालले भनेः थप व्याख्या आवश्यक छ

११ नेताको प्रस्तावमा ओलीको शुभकामना, दाहालले भनेः थप व्याख्या आवश्यक छ

नेपालखबर
असार १९, २०७७ शुक्रबार १७:४,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो पुस्ताका नेताहरुको प्रस्तावालाई अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सकारात्मक रुपमा लिएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थप स्पष्ट हुन खोजेका छन्।

दोस्रो पुस्ताका ११ जना नेताहरूको प्रस्ताव लिएर स्थायी समितिका सदस्य घनश्याम भुसालले अध्यक्ष ओली र दाहालसँग शुक्रबार साँझ भेट गरेका थिए। प्रधानमन्त्री ओलीले दोस्रो पुस्ताको नेताहरुले एकताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिँदै सफलताको शुभकामना दिएको भुसालले बताए।

अध्यक्ष दाहालले पनि पार्टी एकताका लागि आएको नयाँ प्रस्ताव के हो भन्ने बारेमा थप व्याख्या आवश्यक रहेको बताएका छन्।

शुक्रबार बिहान स्थायी समितिका ११ जना नेताहरूले पार्टी एकता जोगाउनु पर्ने भन्दै विगतमा भएका सहमती अनुसार अध्यक्षहरु अगाडि बढ्नु पर्ने निष्कर्ष निकालेका थिए।

‘विगतमा भएका सहमतिको आधारमा नयाँ सहमति खोज्न आग्रह गरें’, दुवै अध्यक्षसँग भेटेपछि भुसालले भने, ‘प्रधानमन्त्रीले शुभकामना भन्नु भएको छ, अध्यक्ष प्रचण्डले हाम्रो प्रस्तावमा थप व्याख्या आवश्यक रहेको बताउनु भएको छ।’

भुसालले यो पहल शुरुवात मात्र भएको बताउँदै यसमा थप छलफल हुने बताए।

शुक्रबार साँझ उनले शुरुमा बालुवाटारमा प्रधानमन्त्री ओली र खुमलटार पुगेर दाहालसँग भेट गरेका थिए।

दोस्रो तहका ११ जना नेताहरुले पार्टीमा अहिले देखिएको विवादले एकता संकटमा परेको भन्दै समस्या चर्काउने गतिविधि नगर्ने, जेठ २ र मंसिर ४ गते भएको सहमतिलाई आधार बनाएर एकताको नयाँ सहमति खोज्नका लागि दुवै अध्यक्षलाई भेटेर र सार्वजनिक रुपमा आह्वान गर्ने सहमति गरेका थिए।

भुसालको संयोजनमा भएको भेलामा वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुरेन्द्र पाण्डे, शक्ति बस्नेत र योगेश भट्टराई संलग्न थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad