राजनीति


रञ्जन प्रकरणबाट फेरि पनि जनमाेर्चाकाे नीति सही प्रमाणितः पौडेल

रञ्जन प्रकरणबाट फेरि पनि जनमाेर्चाकाे नीति सही प्रमाणितः पौडेल

नेपालखबर
साउन १५, २०७७ बिहिबार १४:१८,

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले बर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्चमा ल्याउनु नै गलत भएको बताएकी छन्।

सशस्त्रका पूर्व डीआईजी रञ्जन कोइरालाको फैसला प्रकरणमा विवादित बनेको बेला तल्ला अदालतमा छँदा नै विवादास्पद फैसला गरेका राणालाई सर्वोच्चमा ल्याउनु दलहरुको कमजोरी रहेको पौडेलले बताइन्।

सार्वजनिक सुनुवाईका क्रममा राजमो अध्यक्ष चित्रबहादुर केसीले राणाविरुद्ध एक्लै भएपनि अडान राखेबाट राजमोको राजनीति नै सही प्रमाणित भएको र अरु सबै दलको निर्णय गलत प्रमाणित भएको पौडेलले बताइन्।

विज्ञप्तिमा उनले राष्ट्रिय जनमोर्चाले लिएका सही नीतिहरुका सयौं उदाहरण रहेको उल्लेख गर्दै राजनीति सही वा गलत पार्टीको आकारले नभई पार्टीको नीतिले निर्धारण गर्ने स्पष्ट पारिन्।

सरकारमा गएका प्रायः सबैजसो मन्त्रीहरु भ्रष्ट र बदनाम हुने गरेका भएपनि आफ्नो पार्टीका अध्यक्ष चित्र बहादुर केसी उपप्राधनमन्त्री भएर पनि त्यस प्रकारको एउटा पनि काम नगरेका र कट्टा विरोधीहरुले पनि उनी विरुद्ध एउटा पनि आक्षेप लगाउन नसकेका पौडेलले बताएकी छन्।

‘हाम्रो पार्टी लामो समयदेखि संसद्मा छ। संसद्मा गएका अन्य पार्टीहरुका संसद्हरुमा भ्रष्टचार र अनियमित्ताका कैयौँ आक्षेपहरु लाग्ने गरेका छन्। संसदीय विकास कोषको रकम हिनामिना गरेको भनेर पनि देशव्यापी रुपमा आवाज उठ्ने गरेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘तर अहिले मात्र होइन, हाम्रो पार्टीको गतकालको सम्पूर्ण संसदीय इतिहासमा हाम्रो पार्टीका कुनैपनि संसदले त्यसो गरेका छैनन्। त्यसैले उनीहरुका विरुद्ध त्यस प्रकारका आक्षेपहरु कतैबाट लाग्ने गरेका छैनन्।’

उनले पार्टीको राजनीति वा कार्य प्रणाली सही भएर पनि संगठन वा शक्ति कमजोर हुनुका पछाडि, एकातिर, निर्वाचन प्रणाली झन् पछि झन महंगो र भ्रष्ट हुँदै जानु र अर्कातिर जनताका बिचमा विभिन्न राजनीतिक पार्टीहरुको नीति, कार्यक्रम वा भूमिकाले भन्दा पैसा, प्रलोभन, सिद्धान्तहीन र अराजनीतिक प्रचारले बढी असर पर्नु रहेको ठहर गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .