राजनीति


नेकपा विवाद : दुईपक्षीय संवादहीनताबीच निकटवर्तीहरु सँगकाे परामर्शमा नेताहरु

नेकपा विवाद : दुईपक्षीय संवादहीनताबीच निकटवर्तीहरु सँगकाे परामर्शमा नेताहरु

नेपालखबर
साउन २७, २०७७ मंगलबार १६:३४,

सत्तारुढ नेकपाको शीर्ष तहमा महिनौंदेखि जारी विवादले गम्भीर रुप लिइरहेका बेला कोरोना संक्रमण पनि तीब्र रुपमा फैलिएपछि अहिले शीर्ष नेताहरुबीच भेटघाट र संवाद समेत रोकिन पुगेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेका दुई पक्षबीच अहिले संवादहीनताको अवस्था सिर्जना भएको हो।

तर, यहि बीचमा पनि केहि नेताहरुले भने आफू निकटहरुसँग बिभिन्न ढंगबाट छलफल भने जारी राखेका छन्।

केही नेताहरुसँग प्रत्यक्ष र केहीसँग टेलिफोन संवादमार्फत कुराकानीलाई निरन्तरता दिएको भेटघाट तथा छलफलमा सक्रिय नेताहरुले जानकारी दिए।

पछिल्लो समयमा काठमाडौ उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या बढेका कारण शीर्ष नेताहरुले एक आपसको भेटघाट बन्द गरेका हुन्।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भने आफूनिकट सांसद तथा केन्द्रीय सदस्यहरुसँग सोमबार भेटेरै छलफल गरेका थिए। सो भेटमा उनले बिभिन्न समुहले सुरु गरेका हस्ताक्षर अभियानबारे चासो व्यक्त गरेका थिए।

सोमबार आफ्नै निवासमा डा. विजय पौडेल, गणेश पहाडी, ठाकुर गैरे, रामकुमारी झाक्री, यज्ञ सुनुवार, डा दीपकप्रकाश भट्ट, निरज आचार्यलगायत केन्द्रीय सदस्य तथा सांसदहरुको टोलीसँग हस्ताक्षर अभियानको उद्देश्य आदिबारे चासोपूर्वक जानकारी लिएका थिए।

केन्द्रीय सदस्य समेत रहेका सांसद गणेश पहाडीले हस्ताक्षर अभियानबारे नेपाललाई जानकारी गराएका थिए। उनले पार्टी एकतालाई जोगाउनका लागि आफूहरुले हस्ताक्षर गरेको बताएका थिए।

‘कसैलाई जोगाउन वा हटाउनका लागि होइन, हाम्रो मुख्य उद्देश्य नै पार्टी एकता जोगाउनलाई हो,’ पहाडीलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने।

गत आइतबार नेकपाका ६३ सांसदले पार्टीको शीर्ष नेतृत्वमै विध्वंसात्मक प्रकृतिका टकराव देखिएको भन्दै त्यसलाई रोक्न आग्रह गरिएको आह्वान सार्वजनिक गरेका थिए।

त्यस्तै पार्टीको केन्द्रीय कमिटी बैठक माग गरी १५२ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टी नेतृत्वलाई पत्र बुझाइएको छ।

वरिष्ठ नेता नेपालले ती सांसद तथा केन्द्रीय सदस्यहरुसँग करिब डेढ घण्टा छलफलमा बिताएका थिए।

सहभागी एक नेताका अनुसार नेता नेपालले पछिल्ला अभियान लगायतका विषयमा रुचि राखेर भेट्न बोलाएपछि उनीहरु कोटेश्वरस्थित उनको निवास पुगेका थिए।

भेटमा नेपालले आफूहरु पार्टी एकताकै पक्षमा रहेको तर पार्टी नेतृत्वले एकताको वातावरण अझै बनाउन नसकेको बताएका थिए।

‘हामी एकताकै पक्षमा छौ। हाम्रो तर्फबाट एकताका लागि कुनै समस्या छैन। तर एकताको वातावरण बन्न सकेको छैन,’ नेता नेपाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘अहिलेको मुख्य कुरा भनेकै यथास्थितिमै बस्ने की रुपान्तरण भएर पार्टी र सरकारलाई गतिशील बनाउने भन्ने नै हो। विधि र प्रक्रियामा अघि बढ्ने हो भने अहिलेको समस्या हल हुन्छ।’

उता, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केहि सांसद र केन्द्रीय सदस्यहरुसँग परामर्श तथा भेटघाट जारी राखेको बताइएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने केहि दिनअघि उनको सुरक्षाको बाहिरी घेरामा खटिएकामध्ये एक सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि अहिले भेटघाट बन्द गरेका छन्।

उनले फोनमार्फत् संवाद जारी राखेको हुनसक्ने उनीनिकट एक नेताले बताए।

पार्टीका दुई अध्यक्ष र अन्य शीर्ष नेताहरुसँग सबैभन्दा बढि सम्पर्क र संवादमा रहने पार्टी महासचिव विष्णु पौडेलका एकजना अंगरक्षकमा आइतबार संक्रमण देखिएपछि पौडेलले पनि भेटघाट बन्द गरी निवासमै सेल्फ आइसोलेसनमा बसेका छन्।

‘नेताहरुले यहि परिस्थितिबीच पनि फोन आदि मार्फत् परामर्श गर्नुपर्ने व्यक्तिसँग त आआफ्नै ढंगबाट गरिहाल्नुहुन्छ नि,’ प्रचण्डनिकट एक नेताले भने।

याे पनि: 
नेकपा सांसद भन्छन्: फुटिहाल्यो भने यत्तिको पार्टी फेरि बनाउन सकिन्न
नेकपा केन्द्रीय कमिटी बैठक माग गर्दै बुझाइयो १५२ हस्ताक्षर, आएनन् महासचिव (सूची/भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .