कारोबार


पाँचतारे होटल खोल्ने सूर्य नेपालको योजनामा सरकारले लगायो रोक

पाँचतारे होटल खोल्ने सूर्य नेपालको योजनामा सरकारले लगायो रोक

दीपक भट्ट
साउन २७, २०७७ मंगलबार १६:१३,

चर्चित बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले पाँचतारे होटल सञ्चालनका लागि थालेको प्रयास सरकारले रोकिदिएको छ। लगानीको मोडालिटी अविश्वसनीय बनाएको भन्दै सरकारले पाँचतारे होटल दर्ताको प्रक्रिया बन्द गरिदिएको हो।

सूर्य नेपाल प्रालिले सन् १९८६ देखि नेपालमा कारोबार गर्दै आएको छ। जसमा सबैभन्दा बढी सेयर स्वामित्व आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत छ। ३९ प्रतिशत सेयर नेपाली लगानीकर्ताको छ। त्यस्तै, २ प्रतिशत सेयर भने बेलायती– अमेरिकी कम्पनी टोबाको इन्भेस्टमेन्टको छ।

नेपालमा सुर्तिजन्य वस्तु उत्पादन गरेर लोकप्रिय भएको सूर्य नेपालले होटल क्षेत्रमा पनि लगानी गर्ने निर्णय गरेको थियो। गत वर्ष मंसिरमा सूर्य नेपालको सञ्चालक समितिले बुढानीलकण्ठमा पाँचतारे होटल सञ्चालन गर्ने निर्णय गरेको थियो।

कम्पनीले होटल सञ्चालनको लागि लगानी समेत वृद्धि गर्ने निर्णय गरेको थियो। सूर्य नेपाल सञ्चालक समितिले कम्पनीको हाल रहेको अधिकृत पुँजी ६ अर्ब ५० करोडबाट १८ अर्ब रुपैयाँ पु¥याउने निर्णय समेत गरेको थियो।

त्यस्तै, कम्पनीको अधिकृत सेयर पुँजी ६ करोड ५० लाख कित्तामा प्रतिकित्ता एक सयका दरले वृद्धि गर्ने निर्णय गरिएको थियो यसअनुसार १८ करोड कित्ता सेयर विभाजन हुने र अधिकृत पुँजी १८ अर्ब रुपैयाँ पुग्ने बताइएको थियो।

अर्थात् उद्योगले आगामी दिनमा कमाउने नाफालाई मात्रै लगानी गर्ने बताएको थियो। त्यसैअनुसार होटल दर्ता प्रक्रिया थालिएको थियो।

तर, अहिले सम्भावित नाफाको कुनै ग्यारेन्टी नभएको भन्दै होटल दर्ताको प्रक्रिया नै सरकारले रोकिदिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ। मन्त्रालय अन्र्तगतको उद्योग विभागमा आएको यस किसिमको लगानी मोडालिटी उचित नहुने भन्दै विभागलाई मन्त्रालयले हाललाई सो प्रक्रिया रोक्न भनेको हो।

सेयर होल्डरहरुले उल्लिखित अधिकृत सेयर पुँजी वृद्धिका लागि कम्पनीको प्रबन्धपत्र तथा विनियमावलीमा प्रतिविम्बित गर्ने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने निर्णय समेत गरेको थियो। सो प्रक्रिया समेत हालको लागि रोकिएको छ।

सूर्य नेपालले पाँचतारेको सबै मापदण्ड पूरा हुने गरी होटल सञ्चालन गर्ने बताएको थियो। जसमा क्यासिनो समेत चलाउने भनिएको थियो। त्यसका लागि काठमाडौंको बुढानीलकण्ठमा जग्गाको प्रबन्ध गरिसकेको बताएको थियो। तर, सरकारले थप लगानी लिएर आउन भनेपछि सूर्य नेपालले सरकारले भनेअनुसारको प्रक्रिया अपनाउन नसकिने जवाफ दिएको मन्त्रालयले बताएको छ।

लाभांश बापतको रकम लगानी गर्न मानेन सूर्य नेपालले
सूर्य नेपालको गत वर्ष जम्मा ८४ करोड रुपैयाँ विदेश लगेको थियो। यो वर्ष ५ अर्ब रुपैयाँ विदेश लगेको छ। सबैभन्दा बढी ५९ प्रतिशत सेयर स्वामित्व भएको आईटीसी लिमिटेड इन्डियाले लगेको छ। यस कम्पनीले आफ्नो लाभांश मातहतको सबै रकम भारत लगिसकेको छ। उक्त लाभांशबापतको रकम नेपालमा नै पुनर्लगानी हुने गरी होटलमा लगानी गर्न आईटीसी नमानेको हो।

३९ प्रतिशत सेयरका धनीहरुले पाउने नाफा मात्रै होटलमा लगानी गर्ने देखिएपछि दर्ता प्रक्रिया रोकिएको मन्त्रालयको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .