राजनीति


प्रधानमन्त्री ओलीसँग ‘रअ’का प्रमुखको भेटबारे उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक गरे यी ६-बुँदे भनाइ

प्रधानमन्त्री ओलीसँग ‘रअ’का प्रमुखको भेटबारे उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक गरे यी ६-बुँदे भनाइ

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार १५:१६,

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुखसँग भएको भेटबारे उपप्रधानमन्त्री इश्वर पोखरेलले आफ्ना ६–बुँदे धारणा सार्वजनिक गरेका छन्।

रक्षा मन्त्रीबाट हटाई हालै प्रधानमन्त्री कार्यालयका मामिला हेर्ने जिम्मेवारीमा तानिएका पोखरेलले ‘रअ’ प्रमुख सामन्त गोयलसँग भेट गर्दा प्रधानमन्त्रीबाट कुनै गल्ति नभएको दाबी गरेका छन्।

उनले यो विषयमा प्रधानमन्त्रीको विरोध गर्नेहरुले किन त्यसो गरिरहेका छन् भन्ने बुझ्नुपर्ने जिकिर गर्दै प्रधानमन्त्रीको कदमको समर्थन गर्न आग्रह गरेका छन्।

यस्तो छ पोखरेलले आइतबार साँझ सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका भनाइः

प्रधानमन्त्रीसँग ‘रअ’ का प्रमुखको भेट : प्रायोजित कुप्रचार र वास्तविकता
(१) भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र फर्किए।

(२) नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएका हुन्। काठमाण्डौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको थियो।

(३) प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित केके विषयमा कुरा गर्नुभएको थियो? बातचितमा प्रम ओलीसित रहनुभएका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेका छन्-टिपोट गरेका छन्। परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ।

(४) वातचितमा प्रम ओलीले विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल-भारत सम्वन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो। त्यहाँ नेपालले राख्दै आएका अडानहरू पुनः जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो। र, वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो। त्यहाँ गोयल (हरू) का तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो। नेपाल-भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो।

(५) विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल-भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ? तिनीहरूले किन विरोध गरिरहेका छन्? यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिदैछन् ती मानिसहरू? कारणहरू राम्ररी बुझिएको छैन। अहिले धेरै कुरा किन गर्ने ! उहाँहरूले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनु भएकोछ भन्ने कुरा ठोकेर भन्न सकिन्छ। प्रोटोकललाई ख्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासूसी संस्थाको योजनामा संचालित हुन खोजेको, वार्ताका विषयहरूलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पुर्‍याइएको आदि भनेर आरोप लगाउने कोशिस भइरहेको छ। अर्थात्, यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकार विरूद्धमा एउटा गलत खालको बहस सिर्जना गर्न खोजिदैछ। दुर्भाग्य ! कम्युनिस्ट पार्टीकै कतिपय नेताहरू समेत यस अभियानमा संलग्न हुन खोजेका देखिदैछन्।

(६) यतिबेला एउटा कुरा सबैले ख्याल गरौं-  केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको यस सरकारका विरूद्ध ती मानिसहरू अहिले विशेष निर्लज्जतापूर्वक लागेका छन्, जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए! विगतमा भारतको ‘रअ’ का हाकिमहरूसित भेट गर्न तँछाड मछाड गर्दै यिनै मान्छेहरू छिमेकी मुलुक पुग्दथे, त्यहाँ खुसामदका बिन्ती- बोली बिसाउँथे ।

विडम्बना ! अहिले उनीहरू समेत राष्ट्रियताको बोलीमा लोली मिसाउँदै ओलीले नेतृत्व गरेको सरकारका विरूद्ध बृहद गोलबन्दीको नायक बन्ने प्रयत्न गरिरहेका छन्!!

याद रहोस् ! राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, स्वाभिमानमा आँच पुग्ने कुनै पनि कुरासित सम्झौता हुन सक्तैन! यिनै कुरालाई शीरमा राखी राष्ट्रको दीर्घकालीन हितमा लाग्ने कुरामा कहीं कतैबाट पनि आँच पुग्न दिइने छैन। विदेशीको काखको न्यानोमा सुत्न पल्केकाहरूको कथित राष्ट्रवादलाई चिनौं, सजग होऔं र सरकारले चालेका सही कदमहरूलाई साथ र समर्थन गरौं!!!

ishwar image 1a

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad