भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अब भारत, आफ्नो भूमिमा मात्र होइन, खतरा महसुस भयाे भने अन्य देशको भूमिमा पनि प्रवेश गरेर युद्ध गर्ने चेतावनी दिएका छन्।
भारतबाट प्रकाशन हुने अंग्रेजी अखबार द टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार डोभालले भारतले यसभन्दा अघि कहिल्यै पहिले कसैलाई आक्रमण नगरेकाे तर नयाँ रणनीतिक सोचले खतरा देखिएकाे ठाउँमा पहिले कारबाही गर्नुपर्ने थियो भन्ने देखाएकाे बताएका हुन्।
उनले कसैको नाम नलिईकन भने, ‘याे जरुरी छैन कि हामी तपाईंले चाहेको ठाउँमा युद्ध गराैँ। भारत त्यहाँ युद्ध गर्छ, जहाँ खतरा देखिन्छ।’ डोभालले यसलाई नयाँ भारतको सोच भनेका छन्।
उक्त पत्रिकाका अनुसार आधिकारिक स्रोतले भने डोभालकाे याे भनाइ वर्तमान सन्दर्भमा कुनै देशविरुद्ध नभई ऐतिहासिक सन्दर्भमा उल्लेख गरेकाे दाबी गरेकाे छ।
केही महिनयता खासगरी चीनसँग भारतकाे दुश्मनी बढेकाे छ।
गत जुन १५ मा भारत-चीन सीमा पूर्वी लद्दाखकाे गलवान उपत्यकामा दुई देशका सेनाबीच झडप भएकाे थियाे। त्यस क्रममा २० जना भारतीय सैनिक मारिएका थिए। चीनतर्फ हताहती भयाे वा भएन अहिलेसम्म आधिकारिक जानकारी आएकाे छैन।
त्यसयता लद्दाखमा दुई देशबीच तीव्र तनाव जारी छ।
Shares

प्रतिक्रिया