पर्सामा नेकपा कार्यकर्ताबीच झडपमा परी मृत्यु भएका मुकेश चौरसियाको शव पाँच दिन बितिसक्दासमेत पोस्टमार्टम हुन सकेको छैन।
आक्रमण गर्नेहरुमाथि किटानी जाहेरी दर्ता नगरेको भन्दै परिवारजन लगायत नेकपा नेता कार्यकर्ताले पोस्टमार्टम गर्न दिएका छैनन्।
गएको शुक्रबार उपचारको क्रममा मृत्यु भएपछि मुकेशको शव पोस्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ।
आक्रमण गर्ने पक्षका १२ जनामाथि किटानी जाहेरी प्रहरीले दर्ता नगरेसम्म पोस्टमार्टम हुन नदिने तथा शव नबुझ्ने नेकपाका पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले बताए।
‘पर्सा प्रहरीले मुकेशको हत्यामा संलग्नहरुमाथि किटानी जाहेरी दर्ता इन्कार गर्दै आएको छ। जबसम्म दर्ता गर्दैन तवसम्म हामी शव बुझ्दैनौं। निरन्तर धर्ना दिएर दबाबका कार्यक्रम गर्दै आएका छौं’ इन्चार्ज साहले भने।
परिवारजनले आक्रमण गर्ने पक्ष भनिएका प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता पूर्व संविधानसभा सदस्य समेत रहेका नेकपाका जिल्ला सदस्य राजकुमार गुप्ता, स्थानीय चुनावमा विन्दवासिनी गाउँपालिका राजपाका गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका लक्ष्मण चौरसिया लगायत १२ जनामाथि किटानी जाहेरी दर्ता गराउन चाहेका छन्। तर प्रहरीले उक्त जाहेरी दर्ता गर्न आनाकानी गर्दै आएको नेकपाले जनाएको छ।

यता पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले घटनामा संलग्न नभएकाहरु नाम पनि किटानी जाहेरीमा समावेश गरिएकाले मुद्दा दर्ता गरेको बताइन्।
‘हामीसँग भएको भिडियो फुटेज, अनुसन्धानमा कहिँकतै संलग्नता नदेखिएका मान्छेहरुको पनि नाम किटानी जाहेरीमा समेटिएको छ। त्यसैले जाहेरी दर्ता गरेका छैनौं। संलग्नहरुको किटानी जाहेरी ल्याए हामी मुद्दा दर्ता गर्न तयार छौं’ एसपी पन्तले नेपालखबरसँग भनिन्।
मुद्दा दर्ता गर्न बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने र धर्ना दिने जिल्ला इन्चार्ज साहले जानकारी दिए।

गएको कार्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका ५ मा नेकपाको गाउँकमिटीको सपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षबाट आक्रमण भएपछि झडप भएको थियो। झडपमा परी नेकपाका जिल्ला सदस्य तथा गाउँ कमिटी सचिव मुकेश चौरसिया लगायत दुवै तर्फका पाँचजना घाइते भएका थिए।
टाउकोमा गम्भीर चोट लागेका चौरसियाको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो।
घटनापश्चात नेकपाका केन्द्रीय नेता मातृका प्रसाद यादव, सुरेन्द्र पाण्डे लगायतका नेता समेत दबाब दिन जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्ना बसेका थिए।
घटनामा संलग्नहरुमाथि मुद्दा दर्ता गरेर कारबाही गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र वरिष्ट नेता माधवकुमार नेपालले छुट्टछुट्टै विज्ञप्ति निकालेर माग गरिसकेका छन्। तर घटनामा ओली पक्ष निकटको संलग्नता रहेको कारण प्रहरीले मुद्दा दर्ता गर्न नमानेको आम बुझाई छ।
Shares

प्रतिक्रिया