सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
उपप्रधानमन्त्री पोखरेल शुकबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। अध्यक्ष प्रचण्ड र पोखरेलबीच केहीबेर कुराकानी भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जनाकारी दिए।
‘अध्यक्ष प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल आउनुभएको थियो, उहाँहरुबीच केहीबेर कुराकानी भएको थियो’, सापकोटाले नेपालखबरसँग भने, ‘के विषयमा कुरा भयो भन्ने जानकारी आइसकेको छैन।’
उनले केहीबेरको कुराकानीपछि उपप्रधानमन्त्री पोखरेल खुमलटारबाट बाहिरिएको जानकारी दिए।
स्रोतका अनुसार पोखरेल अर्का अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर खुमलटार पुगेका हुन्।
मंसिर १७ गतेको सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित भएका थिए। २० गतेका लागि बोलाइएको सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच सहमति गराउन अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट नेताहरूले सक्रियता देखाएका छन्।
बिहीबार ओली निकट स्थायी समिति सदस्य सुवास नेम्वाङले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए ।

प्रतिक्रिया