परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल प्रधामन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल भ्रमणमा आएको प्रस्ट पारेका छन्।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले गोयल भ्रमणको रिजल्ट पनि आइसकेको बताए।
उनले गोयलको भ्रमणपछि नेपाल–भारत संवादहीनताको अवस्था तोडिएको समेत बताए। । ‘गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी पुरानै कुरामा अडेर बसेका छौं’ मन्त्री ज्ञवालीले भने, ‘उहाँ (गोयलए रअ प्रमुखका रूप नभई प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर दूतका रुपमा आउनुभएको हो’
मन्त्री ज्ञवालीले दुई देशबीच सम्बन्ध सुधारका लागि कूटनीतिमा व्यापारिक, धार्मिक मानिसहरु समेत प्रयोग हुने बताए। दुई देशबीच सम्बन्ध तिक्ततापूर्ण रहेको बेला सम्बन्ध सुधारका लागि कहिले व्यापारी त कहिले धार्मिक, सांस्कृतिक, नागरिक समूह प्रयोग हुन्छन्’ उनले भने, ‘नाकाबन्दी भएको बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाएको होइन र?’ उनले गोयलको भ्रमणलाई ठूलो विषय नबनाउन सकेत आग्रह गरे।
मन्त्री ज्ञवालीले हालै भएको भारतका विदेश सचिवको भ्रमणले नेपाल–भारतबीच औपचारिक वार्ताको ढोका खोलेको बताए।
विदेश सचिवको नेपाल भ्रमणमा सीमासम्बन्धी समस्यालाई औपचारिक एजेन्डा बनाएर उठाइसकेको र त्यसलाई प्रेस विज्ञप्तिीमा समेत उल्लेख गरिएको उनले बताए। नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यसलाई औपचारिक रुपमा नै एजेन्डा बनाएर राखिएको प्रष्ट पारे।
यसलबाट नेपाल र भारतबीच रहेका सीमा विवाद लगायतका सबै विषयमा छलफल हुने बाटो खुल्ला भएको पनि मन्त्री ज्ञवालीले बताए। व्यापार, वाणिज्य, जलस्रोत, सीमा विवादका विषयमा भारतसँग स्पष्ट छलफल गर्ने बाटो खुल्ला भएको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको उनको भनाइ थियो। यस्तै सीमासम्बन्धी विषयमा छलफल गर्ने गरी दुई देशका सचिव स्तरीय बैठक बस्ने तयारी भइरहेको पनि मन्त्री ज्ञवालीले बतए।
बैठकमा नेकपा सांसद भीम रावलले राति आफ्नै निवासमा भारतीय गुप्तचर संस्थाका प्रमुखलाई प्रधानमन्त्रीले भेट्ने कुरा ठीक नभएको बताएका थिए।
‘भारतीय गुप्तचर प्रमुखलाई राती प्रधनमन्त्रीले निवासमा भेट्ने कुरा मिलेन। यसले प्रधानमन्त्री र देशको मर्यादा पनि बढाउँदैन’, उनले भने, ‘यो हाम्रो स्वतन्त्र परराष्ट्र नीतिविरुद्ध हो।’
बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंह लगायतले गोयलको भ्रमणबारे मन्त्री ज्ञवालीलाई प्रश्न सोधेका थिए।
भिडियो:

प्रतिक्रिया