राजनीति


साझा र विवेकशील एकीकरणमा किन छुटे यी प्रभावशाली पाँच नेता?

साझा र विवेकशील एकीकरणमा किन छुटे यी प्रभावशाली पाँच नेता?

यज्ञराज जोशी
मंसिर २४, २०७७ बुधबार ८:३३,

२०७४ साउन ११ गते साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका तत्कालीन अध्यक्ष उज्वल थापाले एकता सम्झौतामा हस्ताक्षर गरेका थिए।

तर यो एकता सम्झौता १६ महिना पनि टिकेन। २०७५ पुसमा रवीन्द्र मिश्र समूहले एक्लौटी पार्टी चलाउन खोजेको भन्दै थापाले छुट्टै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए। सो निवेदनसँगै विवेकशील र साझा छुट्टिएका थिए।

साझासँग छुट्टिएपछि थापाले नेतृत्व हस्तान्तरण गर्न चाहे। त्यसपछि विवेकशीलको निर्वाचन प्रक्रियामार्फत् मिलन पाण्डे अध्यक्षमा चुनिए। त्यसबेला सक्रिय राजनीतिबाट दुई तीनवर्ष विश्राम लिने घोषणा गरेका थापा त्यसयता सार्वजनिक कार्यक्रममा कमै देखिने गरेका छन।

मंगलबार यी दुई दलबीच पुनः एकीकरण हुन लाग्दा पनि उज्वल थापा सक्रिय देखिदैनन्। विवेकशील पार्टीका एक केन्द्रीय सदस्यका अनुसार थापाकै पालामा विवेकशील अलग्गिएकाले साझासँगको पुनर्मिलनप्रति त्यति सकरात्मक देखिएका छैन। पछिल्लो एक हप्तायता बारम्बार प्रयास गर्दापनि थापा कसैको सम्पर्कमा नआएको ती सदस्यले बताए।

थापा विवेकशीलका संस्थापक थिए। पहिलो संविधान सभा विघटनपछि युवाहरुलाई एकजुट गराउने, नेपाल बन्दका विरुद्ध नेपाल खुला छ भन्ने अभियान चलाउने, देशव्यापी पदयात्रा गराउने, भ्रष्टाचारविरोधी गतिबिधि गर्ने, चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसीको अभियानमा साथ दिने जस्ता गतिबिधिको अग्रपंक्तिमा रहे। त्यसरी सुरुवात गरिएको विवेकशीललाई उनले नै राजनीतिक दलका रुपमा स्थापित गरे।

बुधबार साझा र विवेकशील पार्टीबीच पुनः एकीकरण हुँदैछ। एक समय एकीकृत पार्टीको नेतृत्वमा रहिसकेका थापा भने अहिले गुमनाम जस्तै छन। पार्टी एकीकरणका लागि बनाइएको कार्यदलका एक सदस्य आफूहरुले पहल गरेपनि थापाले एकतामा आउन इच्छा नदेखाएको बताउँछन।

‘पार्टी फुटाउनमा अहिलेपनि केहीले उहाँमाथि पनि औला उठाउने गरेका छन। उहाँकै पालामा पार्टी फुटेकाले पनि नैतिक प्रश्न उठ्यो होला,’ विवेकशील साझा एकता कार्यदलका एक सदस्यले भने, ‘हामीले उहाँलाई अभिभावकत्वको ग्रहण गरिदिन अनुरोध गरेका हौं तर उहाँले इच्छा देखाउनुभएन।’

२०७४ मा भएको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा विजेता र उपविजेतापछिको तेस्रो सर्वाधिक मत ल्याउने उम्मेदवार हुन् थापा। विजयी एमाले–माओवादी गठबन्धनका इश्वर पोखरेलले २३ हजार २९ मत पाउँदा, कांग्रेसका प्रकाशशरण मतले १३ हजार १६९ र थापाले ६ हजार ८५३ मत ल्याएका थिए।

वैकल्पिक राजनीतिको नारा दिएका विवेकशील र साझा पार्टीबीच पहिलोपल्ट एकतामा हस्ताक्षर हुँदा मञ्चमा देखिएका अन्य दुई प्रभावशाली अनुहार थिए– डा.सुर्यराज आचार्य र मुमाराम खनाल।

स्थापनाकालदेखि नै साझा पार्टीसँग जोडिएका आचार्य र खनालले गत असोजमा एकैदिन साझाबाट अलग्गिएको घोषणा गरेका थिए। पार्टीका सबै संरचना भत्काएर पुनः सुरुबाट पार्टीको पुनर्निर्माण गरौं भन्ने उनीहरुको फरक विचारलाई साझाका बहुमत सदस्यले अस्वीकार गरेपछि उनीहरु अलग्गिएका हुन।

पूर्वाधारविज्ञ आचार्य साझामा रहँदा प्रवक्ताको भुमिकामा समेत थिए। सबैसँग मित्रवत् व्यवहार गर्ने र उनका प्रस्तुतिमा गहन वौद्धिकता र विज्ञता झल्किने भएका कारण मिडिया र आमजनतामा पनि उनले आफ्नो पृथक पहिचान बनाउन सफल भएका थिए।

यता तत्कालीन नयाँ शक्ति नेपाल छाडेर आएका मुमाराम खनाल साझामा केन्द्रीय सदस्यको भूमिकामा थिए। विवेकशील र साझाबीच बुधबार हुन लागेको पुनर्मिलनमा यी दुवै नेता छुटेका छन।

आम चुनावमा काठमाडौं क्षेत्र नम्बर २ बाट लडेका आचार्यले सम्मानजनक मत प्राप्त गरेका थिए। यो निर्वाचन क्षेत्रबाट तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याई विजयी भएका थिए। कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९०० मत प्राप्त गरी उपविजेता हुँदा आचार्यले ७ हजार ४३७ मत प्राप्त गरेका थिए।

नेपालखबरसँगको अन्तर्वार्तामा आचार्यले दुबै पार्टी एक भएपनि त्यसको चरित्र राजनीतिक नभएर सामाजिक अभियान जस्तो मात्रै हुने बताएका छन।

‘केही वर्षदेखि जेजति साना–ठूला पार्टीहरु बैकल्पिक राजनीति गर्छु भनी क्रियाशील रहे, उनीहरुले देश रुपान्तरण गर्ने दाबी चाहिँ गरिरहे। तर, यी पार्टीहरुले बृहत् राजनीतिक चरित्र बोक्न सकेनन,’ आचार्य भन्छन्, ‘सामाजिक चरित्र बढी भयो। क्लब जस्तो भयो। बरु अहिले साझा र विवेकशीलले शून्यमा लगेर अहिलेको पद्धतिसँग असन्तुष्टहरुलाई बैकल्पिक अभियानमा बोलाउन सकेको भए अरुसँगै म पनि त्यो अभियानमा जानसक्थेँ।’

यो पनि: ‘दुई-चार जना काठमाडौं बसेर बनाएको संगठन कहिल्यै राष्ट्रिय पार्टी बन्न सक्दैन’ 

साझा विवेकशीलको अभियानमा छुटेका अर्का महत्वपूर्ण व्यक्ति हुन, गोविन्द नारायण। जसलाई विवेकशीलका ‘चाणक्य’ पनि भन्ने गरिन्थ्यो। उनकै नेतृत्वमा विवेकशीलले नीति–निर्माण, बौद्धिक बहसको माहोल सिर्जना गरेको मानिन्छ।

भारतको जवाहरलाल नेहरु विश्व विद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका गोविन्द नारायण जापान र अमेरिका बसेर नेपाल फर्केपछि सन् २०१२ यता विवेकशीलमा आवद्ध भएका हुन्।

वैकल्पिक राजनीति ‘वाद’को पछि नलागेर मानिसको जीवनसँग जोडिएको हुनुपर्नेमा उनको सदैव जोड हुन्थ्यो। गोविन्द नारायणले आफूले एकताको स्वागत गरेको तर एकताको पक्षमा नभएको बताए।

‘उहाँहरुले(विवेकशील) बहुमतले एकतामा जाने लोकतान्त्रिक निर्णय गर्नुभयो। त्यसको म स्वागत गर्छु,’ गोविन्द नारायणले नेपालखबरसँग भने, ‘हामीले आ–आफ्नो तरिकाले जाऔं भन्ने मेरो कुरो थियो। म एकताको पक्षमा थिइन।’

नारायणले बैकल्पिक राजनीतिको अभियानबाट आफू टाढा नरहेको तर एकडेढ वर्ष सक्रिय रुपमा नलाग्ने बताए।

यस्तै मिलन पाण्डेको अध्यक्षतामा बनेको विवेकशील नेपाली दलकी उपाध्यक्ष अजिता राईले पनि यस एकतामा सहभागिता नहुने घोषणा गरिसकेकी छिन।

‘विगतमा साझासँग छुट्टिदाको तिक्तता अझै बाँकी रहेकाले ती कुरा नमिलाई एकतामा जान नहुने हामीले भन्दै आएका थियौं,’ राईले नेपालखबरसँग भनिन्, ‘दुबै पार्टीका सदस्यबीच एकअर्कालाई स्वीकार्ने वातावरण पनि छैन। हामीले विवेकशील नै भएर जाऔं भनेर एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेका हौं।’

विवेकशीलकी उपाध्यक्ष राईसहित १३ जना सदस्यहरुले एकैपटक एकतामा सहभागी नहुने कुरा सार्वजनिक गरेका थिए।

जसमा राईसहित सचिव(व्यवस्थापन) संगीता बाटाजु, संघीय समिति सदस्यहरु कर्मा लामा तामाङ, छिरिंङ तामाङ,विजय बाबु शिवाकोटी, जेसन बैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदी थिए।

आज एकता हुँदै

साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार औपचारिक रुपमा पुनः एकता घोषणा हुँदैछ।

एकिकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ। पार्टीको पहिलो वरियतामा रहने गरि अध्यक्ष मिश्र र दोस्रो वरियतामा रहने गरी संयोजकमा पाण्डे रहनेछन।

एकिकृत पार्टीको लोगो र चुनाव चिन्ह साझा पार्टीले प्रयोग गर्दै आएको तराजु नै राख्ने सहमति भएको छ। एकिकृत पार्टीको केन्द्रीय समितिमा दुबै पार्टीका ६५–६५ जना गरी १३० जना सदस्य रहनेछन्।

गत असारयता दुबै पार्टीले एकताका लागि कार्यदल गठन गरेका थिए। सोही कार्यदलले दिएको प्रतिवेदनका आधारमा अहिले पार्टीबीच एकता घोषणा भएको हो।

कार्यदलले दुई संयोजक रहने गरि प्रतिवेदन दिएपनि त्यसको चर्को विरोधपश्चात एक अध्यक्ष र एक संयोजक रहने गरी पार्टी एक भएका हुन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .