चिनियाँ सेनाले सडकमै ट्यांकहरुको साथमा युद्धकला प्रस्तुत गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
चिनियाँ जनमुक्त सेनाले ताइवानसँग युद्ध भएको खण्डमा जमीनमा युद्ध हुने र त्यसका लागि चीन तयार भएको बताउँदै आएको छ।
यसबीचमा चिनियाँ सेनाहरुले सडकमै ट्यांक र जमीनमा प्रयोग हुने हतियारसहित युद्धकला प्रस्तुत गरेका हुन्।
विश्लेषकहरुका अनुसार चीनको यस युद्धकला प्रदर्शन ताइवानका लागि चेतावनी हो।
चीनले ताइवान आफ्नो क्षेत्र भएको बताइरहँदा ताइवानले भने आफू स्वतन्त्र राष्ट्र भएको बताउँदै आएको छ। चीनले ताइवानमा अमेरिकी गतिविधिलाई रुचाएको छैन।
यद्यपी अमेरिकाले ताइवानलाई हतियारहरु बेचिरहेको छ। यसै वर्षको सुरुवातमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान अलग्याउन चाहनेहरुबाट खतरा भएकाले आफ्ना सेनालाई युद्धका लागि तयार हुन निर्देशन दिएका थिए।
ताइवानकी राष्ट्रपति साई इंग–वेनले भने चीनको एक देश दुई प्रणाली नीति आफ्नो देशमा नचल्ने बताउँदै आएकी छिन्।
चिनियाँ अधिकारीहरुले बारम्बार ताइवानसँग युद्ध हुने र साई देशबाट निष्काशित हुने चेतावनी दिँदै आएका छन्।
सीसीटीभीले गतहप्ता प्रसारण गरेको डकुमेन्ट्रीमा टाइप ९६ए मेन ब्याटल ट्यांक र टाइप ०४ इन्फान्ट्री फाइटिङ भेइकललाई युद्धकला प्रदर्शनका क्रममा देखाइएको थियो।
यी ट्यांकहरु ताइवानसँग युद्ध भएको खण्डमा प्रयोगमा ल्याइने अनुमान गरिएको छ। पछिल्लो समय चीनले ताइवानको हवाई क्षेत्रमा आफ्ना युद्धक विमानहरु पठाउने कार्यलाई पनि तीव्रता दिइरहेको छ।
Shares

प्रतिक्रिया