ad ad

राजनीति


प्रधानमन्त्रीले समयसीमा ताेकेपछि कर्मचारीसँग कड्किन थाले मन्त्रीहरु

प्रधानमन्त्रीले समयसीमा ताेकेपछि कर्मचारीसँग कड्किन थाले मन्त्रीहरु

नेपालखबर
साउन १६, २०७६ बिहिबार १४:२८,

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयले गर्ने कामकाे सयम तालिका निर्धारण गरेर मन्त्रीलाई हस्ताक्षर गराएको भोलिपल्ट (बिहीबार) तीन मन्त्रीहरु मन्त्रालयभित्र कड्किएका छन्।

मन्त्रालय मातहतका योजनाहरु समयमा नै काम गर्ने गरी अर्थात रिजल्ट देखिने गरी कार्ययोजना बनाउन मन्त्रीहरुले ठूलै स्वरमा कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।

कृषि विकास तथा पशुपन्छि मन्त्रालयमा बिहीबार वार्षिक प्रगति समिक्षा कार्यक्रम थियो। कृषि मन्त्रालय मातहतका निकायका प्रतिनिधि तथा कृषि मन्त्रालयका कर्मचारीहरु उपस्थित उक्त कार्यक्रममा मन्त्री चक्रपाणी खनालले कर्मचारीलाई आफ्नो तिक्तता पोखे।

उनले उक्त कार्यक्रममा केही निकायको नामै लिएर ति निकाय खारेजै गर्नु पर्ने अवस्थामा रहेका बताए। कालिमाटी फलफुल तथा तरकारी विकास बोर्ड खारेज गर्नु पर्ने जिकिर उनले गरे। यसले कुनै पनि ठोस काम नगरेको उनले बताए।

यो नियकाले पनि आफ्नो प्रगति विवरण यस्तो उस्तो भनेर देखाउँछ भने त्यसलाई केरमेट गरेर फालिलिए हुने बताए। उनले भने, ‘तरकारी बजारमा गुण्डा दलालहरु घुसेका छन्। तिनीहरुलाई हटाउनु पर्यो वा त्यसको रिर्पोटिङ गर त भन्दा एकदम लुते खालको रिर्पोट, जुन रिर्पोट हेर्नु र नहेर्नुको औचित्य नै नहुने खालको दिने गरेको छ। त्यसलाई खारेज गर्न नसकेर मात्रै हाे नत्र  खारेजै गर्नु पर्ने हो।’

त्यस्तै उनले पछिल्लो सयम रासायनिक मल खरिद प्रक्रियामा पनि मन्त्रालय मातहका कमचारीहरुले ठूलै चलखेल गरेको बताए। उनले चलखेलकै कारण मल अभावको समस्या खेप्न परेको जिकिर पनि गरे।

त्यसैगरि चालू आर्थिक वर्षमा गर्न सकिने धेरै काम मन्त्रालयले नगरेको भन्दै उनले त्यसको दोषी मन्त्रालयका पदाधिकारीहरु नै रहेको बताए। उनले चालू आर्थिक वर्षको योजनामा भने भदौ असोज भित्र कार्यबिधि तयार हुनुपर्ने बताए। उनले सूचना जारी गर्नु पर्ने, टेण्डर गर्नु पर्ने सबै काम तुरुन्त गर्न निर्देशन दिएका छन्। यदि कार्ययोजना बनाउन सकिँदैन आफै बनाउने मन्त्री खनालकाे चेतावनी थियाे।

त्यस्तै केही कर्मचारीहरु रक्सि खाएर होटलमा बसेर मन्त्रीलाई गाली गर्ने स्वभावका समेत रहेकाे उनले बताए। मन्त्रीले अघि सारेको योजना कार्यन्वयन गर्न सकिँदैन, त्यसको कार्यविधि नै बनाउन सकिँदैन भने ‘फेस टु फेस’ कुरा गर्न आग्रह गरे। पछाडी कुरा गरेर कुनै उपलब्धी नहुने उनको भनाई थियो।

यता उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको समेत आज नै वार्षिक प्रगति समिक्षा कार्यक्रम थियो। बैठकमा समेत उर्जा मन्त्री वर्षमान पुनले परिणाम आउने गरी काम नगरे कसैसँँग पनि सम्झौता नगर्ने चेतावनी दिएका छन्। उनले प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पुरा गर्न मातहतका निकायलाई निर्देशन दिए।

‘अब प्रक्रिया मात्र भनेर हुँदैन, तपाईहरुले तालिका बनाएर नै काम गर्नुपर्यो। सरकारले अघि सारेको कामलाई सफल पार्नु हामी सबैको दायित्व हो’ मन्त्री पुनले भने। मन्त्री पुनले आफू झण्डा हल्लाउन मात्र मन्त्री नभएको भन्दै काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी दिए। ‘काम नगर्ने हो भने पद ओगटेर मात्र वस्न कसैलाई पनि छुट छैन्, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुँदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन’ मन्त्री पुनले कडा शव्दमा भने।

मन्त्री पुनले अब काम नगर्ने कर्मचारीसँग आफूले कुनै पनि हालतमा सम्झौता नगर्ने प्रस्ट पारेका छन्। उनले हरेक महिना मन्त्रालयमा समीक्षा वैठक राखेर कामको प्रगती विवरण लिने घोषणा समेत गरे। ‘चिनेका साथी भाई हुन् काम गरिहाल्छन् नी भनेर मैले भन्ने अवस्था छैन्, मलाई परिणाम चाहिएको छ। परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ’ मन्त्री पुनले भने।

त्यसैगरी बिहीबार नै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको हलसम्मको विवरण सार्वजनिक गर्ने कार्यक्रम थियो। कार्यक्रममा मन्त्री गाेकर्ण विष्टले सबैले सही नियतले काम गरे मात्रै देश अघि बढ्ने बताए। कुनै एकजना मात्रै देशलाई विकास र निकास दिन नसक्ने भन्दै उनले मनैदेखि देशलाई माया गरेर काम गर्न कर्मचारीलाई निर्देशन दिए।

उनले कर्मचारीलाई मात्रै नभएर पत्रकारलाई समेत देशलाई मुटु भित्र राखेर लेख्न आग्रह गरे। ‘मुटु भित्र देश राखेर तपाईंहरूले समाचार लेख्नु भएको भन्ने विश्वास लिएको छु, आगामी दिनमा पनि लेख्नुहुनेछ भन्ने  आस छ।’

उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको आलोचनाका विषयलाई पनि उठान गरेका थिए। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको फोटो र समाचार जसरी आयो यर्थाथ फरक रहेको उनकाे भनाई थियाे।

कार्यक्रममा पत्रकारहरुलाई प्रधानमन्त्री रोजगारमा सहभागीले गरेको विकास निर्माणको फोटोहरु देखाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .