पार्टी विभाजनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै समूहमा नखुलेका उपाध्यक्ष वामदेव गौतमले आफू तत्काल कुनै पनि समूहमा नलाग्ने प्रस्ट पारेका छन्।
शनिबार बिहान खुमलटारमा नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा उपाध्यक्ष गौतमले आफू संसद भंगको विरोध र पार्टी एकताका पक्षमा रहेको बताएका हुन्।
भेटमा अध्यक्ष प्रचण्डले पार्टी विभाजनपछि आफूहरुले गरेका गतिविधि र आन्दोलनका बारेमा जानकारी गराउँदै गौतमलाई आफ्नो पक्षमा लाग्न आग्रह गरेको थिए। अध्यक्ष प्रचण्डले आफ्नो समूहमा लाग्न आग्रह गर्दै संसद पुनःस्थापना भए संसदमा र पुनःस्थापना नभए पार्टीमा उचित जिम्मेवारी दिने प्रस्ताव गरेको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए।
‘अध्यक्षज्यूले आफ्नो पक्षमा लाग्न आग्रह गर्दै संसद् पुनःस्थापना भए संसदमा र नभए पार्टीमा उचित जिम्मेवारी दिने प्रस्ताव राख्नुभयो’, सुवेदीले नेपालखबरसँग भने, ‘त्यसको जवाफमा उपाध्यक्ष गौतमले आफू संसद भंग गर्ने कार्यको विपक्षमा रहेको र पार्टी एकताको पक्षमा रहेको बताउँदै तत्काल कुनै पनि समूहमा नलाग्ने बताउनु भयो।’
उपाध्यक्ष गौतमले दुवै समूहले सम्बन्ध थप तिक्ततापूर्ण बनाउनेगरी कार्य नगर्न समेत सुझाब दिएका थिए। उनले आफू दुवै समूहसँग संवादमा रहने र पार्टी एकताको अभियानमा लाग्ने बताउँदै आन्दोलनका कार्यक्रमहरु पनि सोही अनुरुप बनाउन प्रचण्डलाई सुझाब दिएको सुवेदीले बताए।
‘म कुनै पनि मोर्चामा जाँदिनँ, पार्टी एकताकै अभियानमा लाग्छु’, गौतमको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘तपाईंहरु पनि सम्बन्धलाई तिक्ततापूर्ण बनाउने दिशामा नलाग्नुहोस्।
यसअघि मंगलबार बिहान नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ आफ्नो पक्षमा लाग्न आग्रह गर्दै उनकै निवास भैंसेपार्टी पुगेका थिए।
त्यतिबेला पनि उपाध्यक्ष गौतमले आफू पार्टी एकताको पक्षमा रहेका बताउँदै दुई/चार दिन सोच्ने समय दिन आग्रह गरेका थिए। त्यसको पाँच दिनपछि प्रचण्डसँगको भेटमा पनि उपाध्यक्ष गौतमले आफ्नो पुरानो अडान दोहोर्याएका छन्।
याे पनि : खुमलटारमा प्रचण्ड र गौतमबीच छलफल
पार्टीमा अन्तरविरोध चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सल्लाह नै नगरी प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा दुई समूहमा विभाजन भएको छ।
एउटाको नेतृत्व अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्काको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरेका छन्।
दुवै समूहले आफूहरु आधिकारिक भएको भन्दै निर्वाचन आयोगमा चुनाव चिन्ह र पार्टीको नाम दावी समेत गरेका छन्।
उपाध्यक्ष गौतम भने विभाजनपछि कुनै पनि समूहमा नखुले पनि उनीनिकट नेताहहरु भने दुवै समूहमा विभक्त भएका छन्। पछिल्लो समय गौतमको पक्षमा धेरै नेताहरु नरहे पनि पार्टीको उपाध्यक्ष भएका कारण रणनीतिक हिसाबले उनलाई आफ्नो समूहमा तान्न दुवै पक्ष सक्रिय रहेका छन्।

प्रतिक्रिया