राजनीति


पत्नी उपचारका लागि आज भारत जाँदै प्रचण्ड, स्थायी कमिटी बैठकमा उपस्थित हुन नसक्ने

पत्नी उपचारका लागि आज भारत जाँदै प्रचण्ड, स्थायी कमिटी बैठकमा उपस्थित हुन नसक्ने

नेपालखबर
पुस २०, २०७७ सोमबार ३:२९,

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि आज (सोमबार) भारत जाँदै छन्।

पत्नी सीता दाहाललाई लिएर उनी आज बिहान मुम्बइ जाने भएका हुन्। प्रचण्डको निजी सचिवालयका अनुसार अहिले बिहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्नेछन्।

प्रचण्ड-नेपाल समूहको स्थायी समिति सदस्य मात्रिका यादवका अनुसार अध्यक्ष प्रचण्डले उपचारका लागि मुम्बई जानुपरेका कारण आफू आज साेमबारकाे बैठकमा नआउने जानकारी हिजैकाे बैठकमा गराइसकेका छन्।

‘अध्यक्ष प्रचण्डज्यूले आफू पत्नी सीता दाहालको उपचारका लागि आज मुम्बई जान लागेकाे जानकारी गराउनुभएको थियो,’ यादवले नेपालखबरसँग भने।

उनले सीता दाहालले एक्लै जान नमानेका कारण अस्पतालमा भर्ना गर्न मात्रै प्रचण्ड भारत जान लागेको बताए। 

सीता दाहाल ०७४ को दसैँअघि गम्भीर बिरामी परेकी थिइन्। त्यही साल मंसिर ३ गते उनका छोरा प्रकाशको निधन भएकाे थियाे।

यसअघि २०७५ साउनमा सीता दाहाललाई सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगिएकाे थियाे। 

सो अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी पीएसपी भएको पुष्टि गरेको थियो।

त्यसपछि विभिन्न अस्पतालमा उपचार गराइए पनि स्वास्थ्यमा सुधार भएन। २०७५ चैत ३ गते अमेरिकाको जोन हकिन्स अस्पतालमा पनि उनकाे उपचार गराइएको थियो।

यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जलि योगपिठमा समेत उनलाई लगियाे। तर पनि स्वास्थ्यमा सुधार भएन। 

गत बुधबार एक्कासि स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। बिहीबार अस्पतालबाट डिस्चार्ज भएपछि उनी घरमै छन्। थप उपचारका लागि उनलाई आज भारत लान लागिएकाे हाे।

आज पनि प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक
नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीेको बैठक आज (सोमबार) पनि बस्दै छ।

नेताहरूका अनुसार बैठक दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्नेछ।

ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको यो समूहले त्यस विषयमा छलफल गर्न बैठक राख्न लागेको हो।

हिजो पनि पेरिसडाँडामै स्थायी कमिटी बैठक बसेको थियो। त्यही क्रममा प्रचण्डले सोमबार (आज) पत्नीको उपचारका लागि भारत जाने जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .