राजनीति


गण्डकीको विशेष अधिवेशनः प्रचण्ड-नेपाल समूहको मन प्रतिपक्षमा, बस्नुपर्ने सत्ता पक्षमा

गण्डकीको विशेष अधिवेशनः प्रचण्ड-नेपाल समूहको मन प्रतिपक्षमा, बस्नुपर्ने सत्ता पक्षमा

वाशुदेव मिश्र
पुस २१, २०७७ मंगलबार ९:५,

गण्डकी प्रदेशसभाको विशेष अधिवशेन आज (मंगलबार)बाट सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीको माग अनुसार विशेष अधिवेशन बसेको हो।

गएको मंसिर ३० गते दुवै दलका सांसदले प्रदेश प्रमुखकहाँ निवेदन दर्ता गरेपछि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक सेरचनले विशेष अधिवेशन आह्वान गरेका हुन्।

कोरोना नियन्त्रण तथा उपचारलगायतमा प्रदेश सरकार असफल भएको भन्दै प्रतिपक्षीले माग गरेपछि आह्वान गरिएको अधिवेशनमा कोभिड–१९ को विषय नै प्रमुख एजेण्डा हुँदैछ।

जुनबेला प्रतिपक्षीले विशेष अधिवेशन माग गरेका थिए, त्यो बेला सत्तारुढ दल एउटै थियो तर अहिले सत्तारुढ दल दुई चिरामा बाँडिएको छ। सत्तारुढ दल दुई चिरामा बाँडिएपछि त्यहाँ त्यो विषयले पनि प्रवेश पाउँछ कि भन्ने आशंका भएकै बेला प्रमुख प्रतिपक्षी दल कांग्रेसले अधिवेशनमा आफूले उठाएका एजेण्डामा छलफल केन्द्रित हुने जनाएको छ।

‘कोरोना नियन्त्रणमा देखिएको सुस्तता र यसले सिर्जना गरेका विषयहरु नै हामीले उठाउने हो, यसको तयारी भएको छ’, प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले भने, ‘हाम्रा संसदीय दलका नेता (कृष्णचन्द्र नेपाली)ले आफ्ना धारणा लिखित रुपले राख्नुहुन्छ र सुरुको दिनमा अन्य दलका नेताले पनि बोल्नुहुनेछ।’

उनका अनुसार कांग्रेसले आफ्ना धारणा तयार पार्ने जिम्मा सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका सभासद कुमार खड्कालाई सुम्पेको छ। खड्काले प्रतिवेदन तयार पारिसकेका छन्। प्रतिवेदन करिब ४५ पेज लामो भएको पनि कँडेलले जानकारी दिए। कांग्रेसका अर्का एक सभासदका अनुसार सो प्रतिवेदनमा जनता समाजवादीले पनि सहमति जनाएको छ। संयुक्त प्रतिवेदनले कोभिडपछिको सरकारको काम–कारवाही, कोभिड व्यवस्थापन, बजेटको कार्यान्वनयदेखि उसका अन्य कमजोरी पनि औँल्याएको छ। यसैगरी प्रतिवेदनमा सरकारलाई सुझावहरु पनि दिइएको ती सभासदले जनाए।

संविधानको धारा १८३ को उपधारा ३ बमोजिम डाकिएको अधिवेशन पोखरा सभागृहमा बस्दैछ। संविधानअनुसार एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनु पर्छ। गत असोज २६ मा अधिवेशन अन्त्य भएको थियो। अधिवेशन अन्त्य भएको अवस्थामा नै कांग्रेस र जनता समाजवादीले विशेष अधिवेशन माग गरेका हुन्। संविधान अनुसार सदनमा रहेका एक तिहाई सभासदले विशेष अधिवेशनको लिखित माग गरे प्रदेश प्रमुखले अधिवेशन बोलाउनुपर्छ।

यता, गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक समूह सत्तापक्षको बेञ्चमा बस्ने बाध्यतामा छ तर मन भने प्रतिपक्षीको भन्दा बढी फाटेको छ।

पार्टी आधिकारिक रुपमा नफुटे पनि समानान्तर भेला र संगठन निर्माण गरिरहेको नेकपा भित्रको प्रचण्ड–माधव समूह मंगलबारबाट सुरु हुने विशेष अधिवेशनमा प्रतिपक्षको बेञ्चमा नै बस्छ।

‘हो हामी यतिबेला कानूनी रुपले पार्टी एउटै छ तर मन फाटेको छ, बस्न त सत्तापक्षकै बेञ्चमा बसिन्छ, कानूनी रुपले हामी अर्को बेञ्चमा बस्न मिल्दैन’, नेकपा प्रचण्ड–माधव समूहका नेता रामजी बरालले भने, ‘न्यायको सिद्धान्तको आधारमा बोलिन्छ।’

अहिले प्रचण्ड–नेपाल समूहमा १३ जना सभासद छन्। बरालले भावनाको हिसाबले पनि पार्टी एक नभएको सबैले स्वीकार्नुपर्ने बताए।

उनले प्रमुख सचेतकलाई राजनीतिक र मनोवैज्ञानिक रुपले आफूहरु विभाजित भएकाले मंगलबार सत्तापक्षले बोलाएको संसदीय दलको बैठकमा सामेल नहुने जानकारी गराएको पनि बताए। प्रचण्ड–नेपाल पक्ष मौका मिल्नासाथ यो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा छ। सो समूहको सोमबार बसेको बैठकमा विशेष अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भएको थियो। उनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन होमवर्क नपुगेको टिप्पणी पनि गरे।

‘होमवर्क पुगेको छैन, कंग्रेस पनि सकारात्मक छ तैपनि सहकार्य गर्नको लागि लेनादेनाका कुरा हुन्छन्, त्यो कुरा नमिल्दा अरु टुंगिदैन’, उनले हाँस्दै भने।

कार्यव्यवस्था समितिमै अलमल
गण्डकी प्रदेशमा मंगलबारबाट सुरु हुने विशेष अधिवेशन संचालनबारे मतभेद उत्पन्न भएको छ। विशेष अधिवेशन संचालनबारे निर्णय गर्न सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेश संचालन कसरी गर्ने भन्नेबारे सदस्यहरुबीच मत बाझिएपछि बैठक मंगलबारकै लागि सरेको थियो। गण्डकी प्रदेशका कार्यव्यवस्था समितिका सभापति तथा सभामुख नेत्रनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकमा विशेष अधिवेशन कसरी अगाडि बढाउने भन्नेबारे सहमति नजुटेको सदस्य रामजीप्रसाद बरालले जानकारी दिए।

‘सदनमा के गर्ने बैठक बस्यो तर समझदारी हुन सकेन’,उनले भने, ‘विशेष अधिवेशनको सन्दर्भ कार्यविधि र नियमावलीमा खासै स्पष्ट कुरा नभएपछि कस्तो मोडालिटीबाट अघि लैजाने भन्ने समझदारी बनाउनुपर्ने देखियो। नियमावलीको कुन धारा र प्रक्रिया अनुसार अगाडि बढ्ने भन्नेमा सहमति भएन।’

औपचारिक नभए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ। अहिले छुट्टै समूह बनेको नेकपाको प्रचण्ड–नेपाल समूहले विशेष अधिवेशनमा आफूहरुको नेताले पनि बोल्न पाउनुपर्ने जिकिर गर्दा पनि समस्या परेको कार्य व्यवस्था समितिका एक सदस्यले जानकारी दिए। रामजी अहिले नेकपाको प्रचण्ड–नेपाल समूहमा छन्।

‘हाम्रो कुरा सम्वोधन होस् भन्ने हो र विषय सानो छ तर त्यसलाई भयंकर मानियो भने त्यहाँ असहजता हुन्छ, असहमति सानो भए पनि त्यसलाई सानो मानियो भने सहज हुन्छ भनेर हिँडेको हो’, उनले भने,‘संसद सचिवालयमा भनेर हिँडियो, कानूनी हिसाबले एउटा कुरा हो, कति मिल्छ मिल्दैन भन्ने अर्को कुरा होला, हाम्रा सचेतक मायानाथ अधिकारीसँग हाम्रो राम्रो सम्बन्ध छ तर भावनात्मक रुपले गायत्री गुरुङलाई दुई शब्द राख्न दिनुस् न भनेँ।’

जवाफमा मायानाथले यो कुरा आफ्नो अधिनमा नभएको उत्तर दिएका थिए। प्रतिउत्तरमा रामजीले त्यो कुरा मुख्यमन्त्रीलाई राख्न आग्रह गरेको बताए।

पहिला माओवादी हुँदा माओवादीका पनि संसदीय दलका नेता थिए तर अहिले त्यो अवस्था नरहेकोले भोलिको विशेष अधिवेशनमा अस्तित्वमा रहेका ४ दलका नेताहरुले मात्रै बोल्ने र पर्सीबाट छलफल चलाउने भन्नेसम्मको कुराकानी भएको पनि उनले बताए। छलफलमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि सामेल हुनुपर्ने र प्रक्रियाबारे स्पट हुनुपर्ने माग उठेको थियो।

‘विशेष अधिवेशन कसरी संचालन गर्ने भन्नेबारे छलफल भयो, कार्यविधि स्पष्ट नभएकाले मुख्यमन्त्री पनि बैठकमा आउनुपर्छ भन्ने कुरा पनि आयो, मुख्यमन्त्री आउन ढिला हुने भएपछि बैठक स्थगित भयो र भोलि बस्दैछ’, प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले भने, ‘हामी विशेष अधिवेशन बोलाएको समूहले आफ्नो तयारी गरेका छौं, कांग्रेस, समाजवादी, जनमोर्चा र नेकपा नेताले बोल्ने कुरा छ। त्यसलाई कसरी संचालन गर्छन् भन्ने कुरा सभामुखको हो।’

उनले नेकपा चिरा परेपनि वैधानिक रुपमा नफुटेकोले त्यो विषयमा कांग्रेस फस्न नचाहेको बताए। कार्यव्यवस्था समितिमा उपसभामुख तथा कानूनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ भने सदस्यहरुमा सभासदहरु कुमार खड्का,कृष्ण थापा, कृष्णबहादुर थापा, गायत्री गुरुङ, मणिभद्र शर्मा, मायानाथ अधिकारी, रामजी बराल र हरिशरण आचार्य सदस्य रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .