राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा अहिले सर्वसत्तावाद र अधिनायकवादका कारण लोकतन्त्र खतरामा रहेको बताएका छन्।
बुधबार गृहजिल्ला मकवानपुरको हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले १४ वर्षको राजनीतिक र संवैधानिक अभ्यासबाट संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन्।
अध्यक्ष थापाले ०६२÷६३ को आन्दोलन विदेशीको प्रभाव, प्रायोजन र लगानीमा भएको बताउँदै त्यही बाट मुलुकको दुर्घटनामा गएको बताए। उनले प्रायोजित भएका कारण आफू गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको स्पष्ट पारे।
उनले संसद विघटनले थप संवैधानिक जटिलता सिर्जना भएको भन्दै यो कुनै एक व्यक्तिका कारण नभइ व्यवस्थाका कारण भएको बताए। उनले व्यक्ति नभइ व्यवस्था फेर्न आग्रह समेत गरे।
‘अहिले अधिनायकवाद हावी भएका कारण लोकतन्त्र खतरामा परेको भनिएको छ’, उनले भने, ‘लोकतन्त्रको बिउबाट कसरी तानाशाह जन्मियो?’
अध्यक्ष थापाले पछिल्लो संकटलाई अवसरका रुपमा सदुपयोग गर्दै त्रुटिपूर्ण मार्गचित्र सच्याउने हिम्मत र साहस जुटाउनु पर्ने बताए।
उनले विदेशीहरुको डिजाइन अनुसार नेपाललाई धार्मिक सांस्कृतिक उपनिवेश बनाउन धर्म निरपेक्षता लादिएको दाबी गरे।
Shares

प्रतिक्रिया