राजनीति


प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैनन् भनेर भनेकै हुँ : सुवास नेम्वाङ

प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैनन् भनेर भनेकै हुँ : सुवास नेम्वाङ

नेपालखबर
माघ ३, २०७७ शनिबार ९:४०,

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले आफूले अहिलेको संविधानअनुसार प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्ने धारणा राखेको तर अहिले सन्दर्भ फरक रहेको दाबी गरेका छन्।

अहिले आफूले बोलेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनाएको प्रसंग उल्लेख गर्दै उनले त्यसबारे आफैले प्रष्ट पारिदिने बताए।

‘मैले बोलेको त्यो कुरा अहिले भाइरल बनाइएको छ, हो मैले त्यो कुरा २०७६ साउन ६ गते धुलिखेलमा पत्रकारलाई प्रशिक्षित गर्ने क्रममा बोलेको हुँ,’ शनिबार काठमाडौंमा आयोजित एक भेलामा केपी ओलीपक्षीय नेकपा कार्यकर्तालाई सम्बोधन गर्दै नेम्वाङले भने, ‘तर अहिले प्रसंग फरक छ।’

उनले यो देशको शासन व्यवस्था संसदीय प्रणाली भएको हुँदा यस्तो व्यवस्थामा प्रधानमन्त्रीलाई विशेष अधिकार हुने तर्क गरे।

‘प्रधानमन्त्रीले अदालतलाई दिएको जवाफमा पनि यो कुरा व्याख्या गरिएको छ, संसदीय व्यवस्थामा प्रधानमन्त्रीको विशेषाधिकारलाई संविधानले निषेध गरेको छैन,’ उनले भने।

सो भिडियोमा उनले अहिलेको संविधान बनाउँदा आफूहरुले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने प्रावधान सचेततापूर्वक नै हटाएको व्याख्या गरेका थिए।

सो अन्तरक्रियामा नेम्वाङले समाचार लेख्दा सो प्रावधानबारे विशेष हेक्का राख्न पत्रकारहरुसँग आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीले पुस ५ गते हठात् प्रतिनिधि सभा विघटन गरेपछि त्यसबारे पूर्वसभामुख नेम्वाङले सुरुमा कुनै धारणा व्यक्त नगरिरहेका बेला सो भिडियो सामाजिक सञ्जालमा पुनः भाइरल भएको थियो।

शनिबारको भेलामा पूर्वसभामुख नेम्वाङले केपी ओलीलाई दुईतिहाइको प्रधानमन्त्री भएर पनि केहि काम गर्न नदिएपछि संसद विघटन गर्नुपरेको भन्दै त्यसको प्रतिरक्षा गरे।

‘प्रधानमन्त्रीले मलाई दुईतिहाइको प्रधानमन्त्री भन्ने तर सिन्को पनि भाँच्न दिइएन, त्यसैले त्यहि भनेर म जनतामै जान्छु भन्नुभयो,’ नेम्वाङले भने, ‘अब यसको फैसला अदालतले गर्नेछ।’

उनले ओली नेतृत्वको सरकार कामचलाऊ नभएको दाबी गरे।

अहिलेको सरकारले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता लागु नगरेसम्म सबै खालका काम गर्न पाउने उनको भनाइ छ।

यो पनि:
सुवास नेम्वाङको भाइरल भिडियो स् प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .