राजनीति


आन्दोलन अवज्ञासम्म जान्छ, ओलीको बहिर्गमन सुनिश्चित गर्छः योगेश भट्टराई

आन्दोलन अवज्ञासम्म जान्छ, ओलीको बहिर्गमन सुनिश्चित गर्छः योगेश भट्टराई

मणि दाहाल
माघ ५, २०७७ सोमबार १४:१७,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिध सभा विघटन गरेको माघ ५ गते एक महिना पुग्दै गर्दा त्यसलाई असंवैधानिक कदम भन्दै राजनीतिक शक्ति र नागरिक आन्दोलनकर्मी सडकमा ओर्लने क्रम बढेको छ।

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा, नेपाली कांग्रेस, राजपा र नागरिक आन्दोलनकर्मी जो जो सडकमा आए उनीहरू सबैको मुख्य माग रहेको छ– प्रधानमन्त्रीले संविधान मिचेर गरेको संसद विघटनको कदम सच्याउँदै सर्वोच्च अदालतले प्रतिनिधि सभा ब्युँताउनु पर्दछ।

यहीबीच अदालतको संवैधानिक इजलासमा संसद विघटनविरुद्ध परेका रिट निवेदनहरूमाथि आइतबारदेखि नै नियमित सुनुवाइ भइरहेको छ। जसले गर्दा अहिले सबैको आँखा काठमाडौंको रामशापथस्थित सिंहदरबारसँगै जोडिएको सर्वोच्च अदालतमा परेको छ।

अदालतको इजलासमा जसै प्रतिनिधि सभा पुनस्थापनाको बहस चर्किँदै छ, सडक पनि झन् झन् तात्ने अवस्था देखिँदै छ। र, माघ ९ गते शुक्रबार नेकपाले आयोजना गर्न लागेको काठमाडौंको प्रदर्शनसँगै यसले झडपको रुप लिने संभावना पनि देखिँदैछ।

अध्यक्ष प्रचण्डको मुड अब पुरै आन्दोलनकारीको जस्तो देखिएको छ, जब उनले आइतबार दोस्रो जनआन्दोलनका अन्तिम दिनहरूमा झैं आक्रामक रुपमा सडकमा आउन युवाहरूलाई आह्वान गरे र आफु अग्रपंक्तिमा रहेर लाठी खान पनि तयार रहेको उद्घोष गरे।

नेकपाका नेताहरूका अनुसार काठमाडौंबाट सुरु हुने ठूला प्रदर्शनहरू जब सात वटै प्रदेशका मुख्य शहरहरूसम्म फैलने छ, यसले एउटा विशाल रुप लिँदै जानेछ। त्यही योजनाअनुसार बुटवलमा माघ १५ र विराटनगरमा माघ १६ गते विरोध प्रदर्शन आयोजना गरिएको छ, जसमा प्रमुख नेताहरूले सम्बोधन गर्नेछन्। त्यसपछिको आन्दोलन आम हड्तालसम्म जाने नेताहरू बताउँछन्।

नेकपाको यो आन्दोलनको संयोजन गरिरहेका नेकपा स्थायी कमिटी सदस्य तथा आन्दोलन परिचालन समितिका सह–संयोजक योगेश भट्टराईलाई हामीले सोध्यौं– आइतबार अध्यक्ष प्रचण्डले भने झैं के अब आन्दोलन प्रहरीसँग झड्प नै गर्ने तहमा अगाडि बढाउन लाग्नु भएको हो?

योगेश भट्टराई : यो शान्तिपूर्ण आन्दोलन हो। यसका विभिन्न स्वरुपहरु हुन्छन्। प्रधानमन्त्रीले हठात् प्रतिनिधि सभा विघटन गर्नुभएको छ। त्यसको भण्डाफोर गर्ने, विरोध गर्ने र जनमतलाई सशक्त बनाउने हो। अबको आन्दोलन बढी सशक्त हुन्छ। अध्यक्ष प्रचण्डले पनि हिजो त्यस्तै अभिव्यक्ति दिनुभएको हो। कार्यकर्तालाई सशक्त ढंगले परिचालित हुन आह्वान गर्नुभएको हो। असंवैधानिक रुपमा गरिएको संसद विघटनको कडा विरोध गरिनेछ र संविधानको क्रियाशिलताका लागि दबाब दिइनेछ। आन्दोलनले संविधानविरोधी कदमविरुद्ध खबरदारी गर्ने छ। आन्दोलनले केपी शर्मा ओलीको बहिर्गमनलाई सुनिश्चित बनाउने छ।

आन्दोलनका कार्यक्रम चाहिँ के कस्ता छन्?
नेकपाले गर्ने कार्यक्रम शान्तिपूर्ण तर सशक्त हुन्छन्। हाम्रो राजनीतिक माध्यम नै शान्तिपूर्ण हो। हतियारवद्ध होइन। हाम्रो सिद्धान्त पनि हिंसात्मक होइन। तर आन्दोलनमा बढीभन्दा बढी मानिसलाई संगठित बनाउँदै प्रतिनिधि सभा विघटनविरुद्ध अघि बढ्ने छौं। शान्तिपूर्ण रुपमा जुलुस, प्रदर्शनलगायत बिभिन्न शैलीका विरोधदेखि अवज्ञासम्मको कार्यक्रम आउने छन्। दोस्रो चरणमा हामी प्रदेशका प्रमुख शहरहरुमा ठूलाठूला आमसभाको आयोजना गर्नेछौं। माघ ९ गते काठमाडौं, माघ १५ गते बुटवल र माघ १६ गते बिराटनगरमा ठूला विरोध सभाको आयोजना गरिनेछ।

माघ ९ गते काठमाडौंमा गरिने प्रदर्शन कस्तो हुनेछ?
माघ ९ गते बागमती प्रदेशको विरोध सभा हो। त्यसमा मुख्यरुपमा उपत्यकाबासीको सहभागिता रहनेछ। अन्य जिल्लाको ऐक्यवद्धता मात्रै रहनेछ। यस कार्यक्रममा सहभागी हुनका लागि स्थानीय कमिटीहरु तथा सम्पर्क मञ्चको परिचालन गरिएको छ। विरोधका कार्यक्रमले संविधान विघटनको विपक्षमा रहेका व्यक्तिलाई एकै ठाउँमा गोलबन्द गर्नेछ। लामो संघर्षपछि जारी गरेको संविधानको रक्षा मात्रै गर्ने होइन देशलाई अस्थिरताको जुन चक्रमा पुर्‍याउने कोशिस भएको छ, त्यसविरुद्ध आमजनतालाई एकीकृत र गोलबन्द गर्नेछौं।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .