राजनीति


संविधान मिचेर गरिने निर्वाचनले सही परिणाम दिँदैन : प्रचण्ड

संविधान मिचेर गरिने निर्वाचनले सही परिणाम दिँदैन : प्रचण्ड

नेपालखबर
माघ ७, २०७७ बुधबार ७:३,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिचेर गरिने निर्वाचनले सही परिणाम नदिने बताएका छन्।

बुधबार बिहान काठमाडौँमा सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले चुनाव मुख्य कुरा नभएर प्रणाली मुख्य भएको बताए। धेरै तानाशाहरुले निर्वाचन गराएर शत् प्रतिशत मत प्राप्त गरेको इतिहास रहेको बताउँदै उनीहरुलाई नै जनताले गलहत्याएर फाल्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।

‘संविधान मिचेर, लोकतन्त्रमाथि प्रहार गरेर गरिएको चुनावले राम्रो परिणाम दिँदैन। इतिहासमा तानाशाहले पनि थुप्रै निर्वाचन गराएका र तानाशाहरुले एकमा शत् प्रतिशत मत ल्यायौँ भनेका उदाहरण पनि हामीले देखेका छौँ’, अध्यक्ष प्रचण्डले भने, ‘जसलाई जनताले अन्ततः गलहत्याएर फ्याल्नु पर्ने परिस्थित बन्यो र फालिए पनि। चुनाव मुख्य कुरा होइन, प्रणाली मुख्य कुरा हो।’

अध्यक्ष प्रचण्डले आफूहरु निर्वाचनको विरोधी नभएको र हुन नसक्ने बताए। उनले एक वर्षपछि स्थानीय तहको र त्यसलगत्तै केन्द्रको निर्वाचन हुने भन्दै आफूहरु निर्वाचनका लागि सधैँ तयार रहेको बताए।

‘यसै पनि एक वर्षपछि स्थानीय तहको निर्वाचन हुने छँदै छ। त्यसपछि केन्द्रीय निर्वाचन हुने वाला छ। निर्वाचनका लागि हामी तयार नै छौँ’, उनले भने, ‘हामी निर्वाचन विरोधी छैनौँ, होइनौँ र हुनै सक्दैनौँ।’

उनले बहुदलीय प्रतिस्पर्धा, संविधान, निर्वाचन र स्वतन्त्र न्यायपालिकाप्रति आफूहरु प्रतिवद्ध रहेको र त्यको परीक्षण समेत भइसकेको बताए।

‘बहुदलीय प्रतिस्पर्धा, संविधान, निर्वाचन, स्वतन्त्र न्यायपालिकाप्रति अथवा शक्ति पृथकीकरणप्रति हाम्रो कमिटमेन्ट भइसकेको छ’, प्रचण्डले भने, ‘हामी सबै निर्वाचनमा लडेर त्यो कमिटमेन्टप्रति इमान्दार छौँ भनेर सावित गरिसकेका छौँ।’

उनले अहिलेको प्राथमिकता निर्वाचन भन्दा लिक बाहिर लगिएको संविधान र लोकतन्त्रलाई सही मार्गमा ल्याउनु पर्ने भएको बताए।

‘अहिलेको प्राथमिकतामा भनेको संविधानलाई डिरेल गर्ने, लोकतन्त्रलाई डिरेल गर्ने जुन काम भएको छ त्यसलाई करेक्सन गर्ने नै हो’, प्रचण्डले भने, ‘पुनर्स्थापना नगएर निर्वाचन गराउँदा संविधानमाथि भएको प्रहारको क्षतिपूर्ति होला जस्तो लाग्दैन। संविधान त भाँचियो। अर्को निर्वाचित सरकारले पनि संविधान सजिलो मिच्न सक्ने भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad