सेनाले शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर राज्यसत्ता आफ्नो हातमा लिएपछि राज्यसञ्चालनको शक्ति त्यहाँका सेना प्रमुख मिन अङ लाइङले पाएका छन्।
सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएर म्यानमारका सेनाले आइतबार राति सैन्य ‘कू’ गरेका थिए।
चुनावमा धाँधली भएको भन्दै सेनाले सैन्य कू गरेको प्रतिक्रिया जनाएको छ। सैन्य कूपछि त्यहाँका सेनाले सोमबार आफूहरुले सन्तुलन र निष्पक्षताका साथ एक वर्षसम्म म्यानमारमा वास्तविक बहुदलिय लोकतन्त्रको अभ्यास गर्ने बताएका छन्।
सेनाले आफूहरुले निष्पक्ष निर्वाचनको आयोजना गर्ने र विजयी हुने पार्टीलाई सत्ता हस्तान्तरण गर्ने पनि बताएका छन्।
रोयटर्सका अनुसार गत महिनामात्र चिनियाँ विदेशमन्त्री वाङ यीले म्यानमारका सेना प्रमुख मिन अङ लाइङलाई भेटेका थिए। सेना प्रमुख लाइङसँग अहिले म्यानमारको राज्यसञ्चालनको शक्ति छ।
सैन्य कूपछि यतिबेला चिनियाँ विदेशमन्त्री र म्यानमारका सेना प्रमुखको भेटलाई लिएर विभिन्न शंका र उपशंका उब्जिएका छन्।
गत जनवरीको दोस्रो हप्ता यीले म्यानमारको दुईदिने भ्रमण गरेका थिए। त्यसबेला उनले आङ सान सूचीलाई पनि भेटका थिए।
चीनले त्यसबेला म्यानमारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएको थियो। साथै सेना प्रमुख लाइङसँग भने यीले चीन–म्यानमार आर्थिक कोरिडोरको विषयमा कुरा गरेको बताइएको थियो।
चीन पहिल्यैबाट म्यानमारको सहयोगी राष्ट्र हो। चीनले पहिलेको म्यानमार बर्मामा सैनिक तानाशाही शासन हुँदा पनि उसँग सहकार्य गरेको थियो। त्यस्तै स्टेट काउन्सलर आङ सान सूचीसँग पनि चीनले मिलेर काम गरेको छ।
ठूला तेल परियोजना तथा ग्यास पाइपलाइनको विषयमा चीनले म्यानमारमा रणनीतिक आर्थिक चासो राख्दछ।
चीनले म्यानमारसँग चीन–म्यानमार आर्थिक कोरिडोर तथा सन्जालको विषयमा पनि जोड दिँदै आएको छ।
म्यानमारमा सैन्य कू भएपछि चीनले आफूहरुले म्यानमारमा भइरहेको घटनाक्रमबारे जानकारी राखेको बताएको छ।
चीनले म्यानमारमा आफूले स्थिरताको समर्थन गर्ने बताउँदै सबै पक्षले संविधान अन्तर्गत आफ्नो मतभेद सही तरीकाले व्यवस्थापन गर्न सक्दछन् भन्ने धारणा राखेको छ।
चीनकाे विदेश मन्त्रालयले भनेको छ,‘चीन म्यानमारको मित्रवत छिमेकी हो। हामीलाई आशा छ कि म्यानमारका सबै पक्षले संविधान र कानुनी ढाँचा अन्तर्गत आफ्नो मतभिन्नताहरूलाई उचित तरिकाले व्यवस्थापन गर्न सक्छन् र राजनीतिक तथा सामाजिक स्थायित्वको रक्षा गर्न सक्दछन्।’
अमेरिकाले भने म्यानमारको सैन्य कूको कडा शब्दमा भत्सर्ना गरेको छ। सैन्य कू फिर्ता नभए अमेरिकाले कडा आर्थिक प्रतिबन्ध लगाउने र आवश्यक कारवाही गर्ने चेतावनी दिएको छ। रोयटर्स र एजेन्सीको सहयोगमा
याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

प्रतिक्रिया