चीनले नेपाललाई ५ लाख डोज कोभिड खोप प्रदान गर्ने भएको छ।
आज शुक्रबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यीबीच भएको टेलिफोन वार्ताका क्रममा चिनियाँ मन्त्री तथा स्टेट काउन्सिलर वाङले सो सहयोगको घोषणा गरेका हुन्।
यसअघि ३ लाख डोज दिने भनी नेपालस्थित चिनियाँ दूतावासले घोषणा गरेकोमा आज मन्त्रीले सो परिमाणलाई बढाएर पाँच लाख डोज खोप नेपाललाई अनुदानमै प्रदान गर्ने घोषणा गरेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवालीसँगको कुराकानीमा उनले खोप सहयोगका विषयमा चीनले नेपाललाई प्राथमिकतामा राख्ने पनि बताएका छन्।
‘दुई मन्त्रीबीचको टेलिफोन कुराकानीमा आपसी हितका विषयहरुमा छलफल भएको थियो,’ परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार बेलुका जारी विज्ञप्तिमा बताइएको छ।
सो सहयोगका लागि मन्त्री ज्ञवालीले चीन सरकारलाई धन्यवाद दिनुका साथै कोभिड खोपलाई विश्वकै सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउने चिनियाँ अवधारणाको प्रशंसा गरेका थिए।
भारतले नेपाललाई १० लाख डोज कोभिड खोप प्रदान गरिसकेको छ र भारतबाट अनुदानमा प्राप्त खोप नेपालमा स्वास्थ्यकर्मीलगायतलाई लगाउन सुरु गरिसकिएको छ।
अहिलेसम्म नेपालमा १ लाख ७१ हजारभन्दा बढिले कोभिड खोपको पहिलो डोज लगाइसकेका छन्।
त्यसैगरी, विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गत पनि नेपालले साढे २२ लाख डोज खोप प्राप्त गर्ने भएको छ।
यो पनि:
- कोभ्याक्समार्फत् नेपालले पाउने भयो साढे २२ लाख डोज कोभिड खोप
- चीनले दिने भयो अनुदानमा ३ लाख डोज कोभिड भ्याक्सिन

प्रतिक्रिया