निर्वाचन आयोगले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आधिकारिकता दावी गर्दै दिएको निवेदनमाथि दुई/तीन दिनभित्र लिखित जवाफ पठाउने भएको छ।
आइतबार आयोगमा दलहरुसँगको निर्वाचन आचारसंहित छलफलका क्रममा प्रचण्ड–नेपाल पक्षले नेकपाको आधिकारिकता विवाद टुंगो नलागेसम्म निर्वाचन प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको थियो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबारको आयोगको छलफल नेकपा विवादमा नभई निर्वाचन आचारसंहिता र प्रक्रियामा केन्द्रित रहेको बताए। उनले प्रचण्ड–नेपाल समूहले विवाद हल नभएसम्म प्रक्रिया रोक्न आग्रह गरेको जानकारी दिए।
‘आयोगको आजको विषय निर्वाचन आचारसंहिता र प्रक्रिया थियो’, प्रवक्ता श्रेष्ठले नेपालखबरसँग भने, ‘उहाँहरु(प्रचण्ड–नेपाल समूह) ले आफ्नो कुरा राख्नुभएको थियो, यो उहाँहरुको विषय हो।’
प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिकता दावी गर्दै निवेदन दिएको थियो। प्रवक्ता श्रेष्ठले आयोगले उक्त निवदेनको अध्ययन गरिरहेको र दुई/तीन दिनभित्र लिखित जवाफ दिने जानकारी दिए।
‘उहाँहरुले आधिकारिकता दावी गर्दै दुई दिनअघि लिखित निवेदन दिनु भएको थियो,’, प्रवक्ता श्रेष्ठले नेपालखबरसँग भने, ‘हामी लिखित रुपमै दुई/तीन दिनभित्रै त्यसको जवाफ दिन्छौँ।’
उनले पत्रको जवाफ दिने बताए पनि आधिकारिकताबारे भने केही बताएनन्।

प्रतिक्रिया