नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव आफूले कोरेकै गोरेटोमा आइपुगेको दावी गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विप्लव नेकपाका नेताहरुलाई नेकपा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा आफू रहेको बताए।
उनले आफूले कोरेकै गोरेटोमा आएकोमा विप्लवलाई धन्यवाद समेत दिए।
‘यहाँ विप्लवजीसँग सम्बन्धित कमरेडहरु पनि जोडिनु भयो, तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु’, उनले भने, ‘उहाँ (विप्लव) अन्ततः पार्टीको बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ, यसअर्थमा उहाँलाई पनि म धन्यवाद भन्न चाहनछ र यस्तै कार्यक्रममा उहाँलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा रहेको घोषणा गर्दछु।’
अध्यक्ष प्रचण्डले आफूले विप्लवलाई राम्रोसँग चिनेको बताउँदै उनी अन्ततः नेकपामै आउनै पर्ने बताए। उनले विप्लव अलगिने दिन नै आफूले अब दोस्रो प्रचण्ड बन्न सम्भव नभएको बताएको स्मरण गर्दै आफ्नै बाटोमा आएकोमा धन्यवाद दिए।
‘मैले उहाँलाई बुझेको छु, चिनेको छु। अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा आउनै पर्छ’, उनले भने, ‘जतिबेला उहाँ मबाट अलगिनु भयो त्यतिबेलै मैले एउटा दिन आउनेछ त्यहीबेला तपाईं हुनुहुनेछ भनेको थिएँ। मैले भनेको थिएँ अर्को प्रचण्ड अहिले हुँदैन, एउटा हुन्छ। एउटा कालखण्डमा एउटा हुन्छ। अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो।’
उनले आफूहरु नेतृत्वको नेकपा केन्द्रीय समितिको संख्या, संसदीय दल, देशभर भएको आन्दोलन आदिका हिसाबले मूलपार्टी प्रमाणित भइसकेको बताए।

प्रतिक्रिया