राजनीति


प्रदेश २: ओली पक्षमा लागेका तीन सांसद माओवादीमै फर्किने

प्रदेश २: ओली पक्षमा लागेका तीन सांसद माओवादीमै फर्किने

शैलेन्द्र महतो
फागुन २६, २०७७ बुधबार १६:३७,

प्रदेश २ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका नेकपा माओवादी केन्द्रका तीन प्रदेश सांसद आफ्नै पार्टीमा फर्किने भएका छन्।

प्रतिनिधिसभा विघटनपश्चात ओलीको पक्षमा लागेका चार जनामध्ये कुन्दन कुशवाहा, रामचन्द्र मण्डल र मो. समिरले माओवादीमै फर्किने संकेत गरेका छन्। ओली पक्षमा लागेकी माओवादीकै ज्वालाकुमारी साह भने फर्किने मनस्थितमा छैनन्।

प्रदेश २ मा नेकपा एमालेका २१ र माओवादी केन्द्रका ११ जना सांसद छन्। दुवै दल एकता हुँदा नेकपामा ३२ जना सांसद रहेका थिए। तर पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात नेकपाका सांसदहरु दुई गुटमा विभाजित भएका थिए।

जसमध्ये प्रचण्ड–माधव पक्षमा १९ जना सांसद खुलेका थिए भने १३ जना ओली पक्षमा। प्रदेश २ नेकपा संसदीय दलका नेता समेत रहेका ओली पक्षका स्थायी समिति सदस्य सत्यनारायण मण्डललाई प्रचण्ड–माधव पक्षले कारबाही गरी हटाएर सत्रुघन महतोलाई दलको नेता बनाएका थिए।

सर्वोच्च अदालतले नेकपालाई खारेज गरी एमाले र माओवादी ब्युँताएपछि एमालेका सांसदहरु पार्टीमै फर्केका छन्।
त्यसपछि ओली पक्षमा लागेका माओवादी सांसदहरु पनि फर्किने भएका हुन्।

ओली पक्षमा लागेका प्रदेश सांसद कुन्दन कुशवाहाले आफु पार्टीमै रहेको बताए।
‘म कतै गएकै छैन। दुईदल एकता हुँदा नेकपा थियो। म पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीको पक्षमा थिएँ। अहिले सर्वोच्चले नेकपा खारेज गरेर दुबै पार्टी ब्युँताएपछि म माओवादीमै छु,’ कुशवाहाले नेपालखबरसँग भने।

यस्तै ओली पक्षमा रहेका माओवादीका तत्कालीन संसदीय दलका नेता समेत रहेका रामचन्द्र मण्डलले आफु पार्टीमा फर्किने वा नफर्किने विषयमा छुट्टिएका साथीहरुसंग छलफल गरिरहेको बताए।

उनले भने ‘पार्टीमा फर्किने वा नफर्किने विषयमा अहिले केही भन्न सकिन्न। हामी छलफलकै क्रममा छौँ।’

माओवादी केन्द्रका सांसद दिलीप साहले पनि सांसद मण्डल पार्टीमा फर्किन सकारात्मक रहेको बताएका छन्।

‘म पार्टी दुई कित्तामा विभाजन हुँदा पनि तटस्थ नै छु। अहिले अब पार्टी ब्युँतिएपछि माओवादीमै छु। कतै कुनै पक्षमा गएको छैन। तर म ओली पक्षमा लागेको भनेर अफवाह फैलाइएको छ,’ नेता साहले भने ‘ओली पक्षमा जानु भएका सांसद रामचन्द्र मण्डलजीले मलाई फोन गर्नु भएको थियो। हामीलाई पनि यतै रहनुपर्छ भन्ने कुरा गर्नुभएको छ। पार्टीमा फर्किन सकरात्मक नै हुनुहुन्छ।’

ज्वाला कुमारी साहले भने सांसद पद गए पनि आफू ओली पक्षमै रहने बताइन्।

‘म प्रधानमन्त्री ओलीकै पक्षमा थिएँ र ओलीकै पक्षमा रहन्छु। पार्टीमा कुनै पनि हालतमा फर्किन्नँ। बरु पद गए जाओस्,’ उनले नेपालखबरसँग भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad