प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा बैठक सकिएपछि संसद भवन पुगेका छन्।
पुनर्स्थापनापछि मंगलबार बसेको प्रतिनिधि सभाको तेस्रो बैठकमा प्रधानमन्त्री ओली बैठक सकिएपछि पुगेका हुन्।
बैठक दिउँसो १ बजे जम्मा ७ मिनेट मात्रै बसेको थियो। प्रधानमन्त्री ओली केही समय ढिलोगरी बैठकस्थल पुगेका थिए। तर, उनी पुग्दा बैठक नै सकिएको संसद सचिवालयका एक अधिकारीले बताए।
यसअघि फागुन २३ र २६ गते बसेको बैठकमा प्रधानमन्त्री ओली निर्धारित समयभन्दा अगाडि नै पुगेका थिए। पहिलो बैठक उनी सहभागी भएर निस्किएका थिए भने दोस्रो बैठक सुरु नहुँदै संसद भवनबाट बाहिरिएका थिए।
संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत रहेका यादवको ७५ वर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो।
स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराएका थिए।
अर्को बैठक चैत ६ गते बस्ने संसद सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले एमाले कन्द्रीय सदस्यका लागि बालुवाटारमा राखेको चियापान कार्यक्रममा सभामुखलाई लक्षित गर्दै संविधान कार्यान्वयन गर्न नदिनको लागि सेटिङ भएको आरोप लगाएका थिए। उनी संसद बैठकमा सहभागी हुनका लागि उक्त कार्यक्रममा छोटो समयमात्रै बोलेका थिए।
संसद् बैठकको कार्यसूचिका विषयमा छलफल गर्न सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटेको थिएन।
सरकारले अध्यादेश पेश नगर्ने र सांसदहरुलाई पनि बोल्न नदिने अडान लिएपछि मंगलबारको बैठकमा अन्य कार्यसूचि तय भएको थिएन।

प्रतिक्रिया