राजनीति


राष्ट्रिय जनगणनाको तयारी तीव्र

राष्ट्रिय जनगणनाको तयारी तीव्र

नेपालखबर
चैत १८, २०७७ बुधबार १०:४४,

राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्यांक विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ।

समितिले गणकलाई प्रत्येक घरदैलोमा पुुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक संकलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको गम्भीर ध्यानाकर्षण गराएको छ। सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रौँ राष्ट्रिय जनगणना गर्दैछ।

समितिको आजको बैठकमा सदस्यहरुले खासगरी बसाइँसराइ र विभिन्न पेशा व्यवसायमा संलग्न हुने सिलसिलामा शहर र विदेशमा जाने नागरिकको दोहोरो गणना हुनसक्ने सम्भावनालाई समयमै होस् पु¥याउन सुझाव दिए।

जनगणनामा शिक्षा, पेशा, बसाइँसराइका अतिरिक्त विदेशमा रहेका नेपाली र नेपालमा रहेका विदेशीको पनि गणना हुन आवश्यक रहेको बताउँदै सही तथ्याङक संकलन गर्न गणकहरु प्रत्येक घरमा पुगे नपुगेको अनुगमन गर्ने प्रणालीसमेत आवश्यक रहेको उल्लेख गरे। जनगणनाको स्थलगत तथ्यांक संकलन गर्न ३९ हजार गणक तथा आठ हजार सुपरिवेक्षक परिचालन गरिने सो अवसरमा जानकारी दिइयो।

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत विकास गर्ने बलियो आधार जनगणना भएको हुुँदा सही तथ्यांक संकलन गर्न सक्नुपर्छ भन्दै सदस्यहरुले सामाजिक रुपान्तरणका लागि कुप्रथाको जड र केन्द्रविन्दु मानिएका विषय पत्ता लगाउने गरी फारम विकास गर्न सुझाव दिए।

कर र राजश्वलगायतका कारणले सही सूचना नदिने पाटोमा सुधार गर्दै जनगणनामा सबैलाई सहभागिताका लागि प्रेरित गर्न सु्झाव दिए। महिलाले घरभित्र गरेका कामको मूल्यको गणना हुन आवश्यक रहेको बताउँदै उनीहरुले मुलुकभर सेवा क्षेत्रमा भएको विस्तारको अवस्था कस्तो छ भन्ने कुरा पनि जनगणनामा आओस् भने।

नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ। प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिन्छ। यस वर्षको जनगणनाको मूल नारा मेरो गणना : मेरो सहभागिता रहेको छ।

योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले राष्ट्रको विकास र समृद्धिको अभियानलाई अघि बढाउन ठिक तथ्यांक आवश्यक पर्ने भएकाले राष्ट्रिय जनगणनामार्फत सही तथ्यांक संकलन गर्न आयोगले भगिरथ प्रयत्न गर्ने दृढता व्यक्त गरे। तथ्यांक विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले स्थानीयवासीलाई प्रोत्साहन गर्न रोजगारमा संलग्न नभएका युवायुवतीलाई प्राथमिकता दिने उद्देश्यले दरखास्त आह्वान गरी गणक परिचालन गर्न लागिएको बताए।

उनले भने, ‘युवालाई गौरव बोध होस् भन्ने हेतुले विगतमा ९८ प्रतिशत शिक्षक परिचालन गर्दै आएकामा यस पटक ठिक विपरीत सोही प्रतिशत युुवालाई गणनामा सहभागी गराउने व्यवस्था गरिएको छ।’

शहरका उच्च वर्गको तुलनामा कम साक्षरता भए पनि दुरदराजका जनताले वास्तविक तथ्यांक उपलब्ध गराएर सहयोग पुर्‍याएको विगतको अनुभव सुनाउँदै महानिर्देशक श्रेष्ठले समाजका सवै तह र तप्कालाई राष्ट्रिय जनगणनामा सहभागी भई सहयोग पुर्‍याउन अपिल गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad