आफ्नो पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि लुम्बिनी प्रदेश सभाका सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीले आजदेखि पद गुमाउने भएका छन्।
आज बस्ने प्रदेश सभा बैठकमा सभामुखले उनीहरूलाई माओवादी केन्द्रले कारबाही गरेको पत्र पढेर सुनाउने र त्यससँगै दुवैको सांसद पद गुम्ने भएको हो। योसँगै आजदेखि लुम्बिनी प्रदेश सभामा २ सांसद पद खाली हुने भएका छन्।
माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका न्यौपाने रूपन्देही क्षेत्र नम्बर १ को २ र दिनेश पन्थी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ को २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
तर उनीहरू एमालेको ओली समूहमा लागेका कारण पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। दुवैलाई प्रधानमन्त्री ओलीले एमालेमा केन्द्रीय सदस्य बनाएका छन्।
माओवादी केन्द्र संसदीय दलले प्रदेश सभा सचिवालयमा न्यौपाने र पन्थी दलमा नरहेको सूचना दर्ता गराएपछि उनीहरूको निलम्बन प्रक्रिया अघि बढेको हो। राजनीतिक दलसम्बन्धी दफा ३४ मा जुन दलबाट निर्वाचित भएको हो, त्यो दल त्यागेपछि स्वतः सांसद पद जाने व्यवस्था छ।
माओवादी केन्द्र संसदीय दल (लुम्बिनी) ले यही चैत ११ गते दुवैलाई २४ घण्टे स्पष्टीकरण मागेको थियो। तर जवाफ नदिएपछि चैत १३ गते संसदीय दलले कारबाही गरी सदरका लागि केन्द्रीय कमिटीमा निर्णय पठाएको थियो ।
जसअनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो आइतबार कारबाही सदर गरेका हुन् र सोहीबमोजिम प्रदेश सभामा उनीहरूलाई कारबाही गरिएको सूचना दर्ता गरिएको हो।
प्रदेश १ र कर्णालीमा पनि कारबाही
यस्तै माओवादी केन्द्रबाट प्रदेश सांसद बनेका प्रदेश १ का टंक आङ्बोहाङ र कर्णालीका धर्मराज रेग्मीलाई पनि पार्टीले कारबाही गर्दै छ।
उनीहरूलाई पनि पार्टीबाट बर्खास्त गरिएकोबारे सम्बन्धित संसदीय दलले पार्टीको केन्द्रीय कमिटीमा सिफारिस गरिसकेका छन्।

प्रतिक्रिया