भारतीय राज्य महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले पदबाट राजीनामा दिएका छन्। उनले राज्यका मुख्यमन्त्री उद्धव ठाकरेलाई राजीनामा पत्र बुझाएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार यो खबर सार्वजनिक हुनासाथ ट्विटरमा अनिल देशमुख ट्रेन्डिङ हुन लागेको छ। ट्विटरमा उनका विषयमा किसिमकिसिमका प्रतिक्रिया आइरहेका छन्।
मुम्बई प्रहरी प्रमुख पदबाट हटाइएपछि परमवीर सिंहले गृहमन्त्री देशमुखमले मुम्बईकै निलम्बित सहायक प्रहरी निरीक्षक सचिन वझेलाई महिनाको सय करोड उठाएर आफूलाई बुझाउन निर्देशन दिएको भनेर लगाएको आरोपबारे बम्बईको उच्च अदालतले सीबीआईलाई अनुसन्धान गर्न आदेश दिएपछि गृहमन्त्री देशमुखले राजीनामा दिनुपरेको हो।
गत फेब्रुअरी २५ मा भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको घरनजिक विस्फोटक पदार्थ जिलेटिनले भरिएको स्कार्पियो गाडी छाडिएको प्रकरण अनुसन्धान क्रममा मुम्बईका तत्कालीन सहायक प्रहरी निरीक्षक वझे गिरफ्तार गरिएपछि घटनाले नयाँ नयाँ मोड लिइरहेको छ।
त्यही प्रकरणका कारण परमवीर सिंहलाई पनि मुम्बईको प्रहरी आयुक्त पदबाट हटाइएको हो। त्यस लगत्तै सिंहले गृहमन्त्री देशमुखले सचिन वझेलाई महिनाको सय करोड असुली गरी आफूलाई बुझाउन निर्देशन दिएका थिए भनेर मुख्यमन्त्री ठाकरेलाई पत्र पठाएका थिए। त्यसैकारण गृहमन्त्री देशमुख विवादमा तानिएका थिए र अन्ततः राजीनामा दिन बाध्य भए।
गृहमन्त्री देशमुखले लेखेको राजीनामा पत्र :

यो पनि : अम्बानी प्रकरणले महाराष्ट्रमा हलचल, गृहमन्त्री देशमुखले दिए स्पष्टीकरण

प्रतिक्रिया