राजनीति


राष्ट्रिय जनमोर्चाद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, अविश्वास प्रस्तावको पक्षमा भोट गर्ने

राष्ट्रिय जनमोर्चाद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, अविश्वास प्रस्तावको पक्षमा भोट गर्ने

नेपालखबर
बैशाख १, २०७८ बुधबार ६:८,

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन्।

उनले आफ्नो पार्टीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारका केहि निर्णय र गतिबिधिप्रति असहमति जनाउँदै संघीय सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको जनाउँदै अध्यक्ष केसीले अब गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने बताएका छन्।

‘केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरुमा नेकपा र पछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेका सरकारहरुलाई दिएको समर्थन कायमै राखेका थियौँ, त्यसको अर्थ हामीले बामपन्थीको सरकारमा जोड दिएका हौँ,’ उनले भनेका छन्।

उनले गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार रहँदा साविकको स्थितिमा परिवर्तन भएको बताएका छन्।

‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ, त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ,’ उनले भनेका छन्, ‘त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ।’

उनले मुख्यमन्त्रीमा माओवादी केन्द्र र नेपाली कांग्रेस जुन आए पनि त्यो उनीहरु बीच बन्ने समिकरण हुने र त्यसमा जनमोर्चाको समर्थन रहने पनि उनले प्रष्ट्याएका छन्।

तर त्यो सरकारमा आफूहरु सहभागी भने नहुने उनले बताएका छन्।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तीन प्रदेश सभा सदस्य छन्।

मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री ओली निकट हुन्।

राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा उनको सरकार अल्पमतमा पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad