गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ जना सांसदले प्रदेश सभाको सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको माओवादी केन्द्रका सांसद दिपक कोइरालाले नेपालखबरसँग भने।
उनका अनुसार नेपाली कांग्रेसको प्रदेश सभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको उम्मेदवार बनाइएको छ।
कोइरालाका अनुसार प्रदेश सभाको अधिवेशन आह्वान गर्न माग गर्दै आजै सांसदहरुले समावेदन बुझाउने तयारी पनि गरिएको छ।
प्रदेश सभाको नियमावलिअनुसार सभाका २५ प्रतिशत सांसदले प्रदेश प्रमुखलाई समावेदन गरेपछि अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
यसअघि कोरोनाको विषयमा छलफल गर्न सांसदहरुले माग गरेपछि १५ दिनभित्र अधिवेशन बोलाइएको कोइरालाले नेपालखबरसँग भने।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि सरकारले बुधबार बेलुका अधिवेशन नै अन्त्यको सिफारिश गरेको थियो।
सोहि सिफारिशअनुसार प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अधिवेशन अन्त्यको सूचना जारी गरेका छन्।





प्रतिक्रिया